भारत र चीनका लागी प्रस्तावित राजदुतको सुनुवाइ प्रक्रिया शुरु

काठमाडौं ,भाद्र २१ ।

संसदीय सुनुवाई विशेष समितिले सरकारले चीन र भारतका लागि सिफारिस गरेको राजदुतको सुनुवाई प्रक्रिया अघि बढाएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले भारतका लागि प्रस्तावित राजदुत दिपकुमार उपाध्याय र चीनका लागि प्रस्तावित लिलामणि पौड्यालका विरुद्ध उजुरी संकलनका लागि १० दिनको समय दिएको छ ।

उजुरी संकलनका लागि यही भदौ ३१ गते साँझ ५ बजेसम्मको समय उपलब्ध गराएको समिति सदस्य भानुभक्त ढकालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जानु अघि नै दुई छिमेकी मुलुकका लागी राजदुत नियुक्त गर्ने भनिए पनि संसदीय सुनुवाई प्रक्रियाका कारण प्रधानमन्त्रीको भ्रमणपछि मात्रै नियुक्त हुने भएका छन् ।

संसदीय सुनुवाई समितिले सुनुवाई गरी अनुमोदन गरेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले राजदुत नियु्क्त गर्ने संवैधानिक व्यवस्था छ ।

बैठकमा एमाले र राप्रपा नेपालका सांसदले राजदुत नियुक्तमा सरकारले गलत नजिर स्थापित गरेको टिप्पणी गरेका छन् ।

मङ्ल, भदौ २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...