समालोचना – नेपाली भाषा तथा व्याकरणको उत्पत्ति, विकास र मानकीकरण : समस्या र सम्भावना       

         – नेत्र बहादुर कुँवर ‘अशोक'

विषय प्रवेश

प्रस्तुत अध्ययनको शीर्षक नेपाली भाषा तथा व्याकरणको उत्पत्ति, विकास मानकीकरण : समस्या सम्भावना रहेको छ । भाषा रुढ र अचल हुँदैन । यसमा त परिवर्तनको शक्ति र प्रसारको बेजोड क्षमता लुकेको हुन्छ । पिजिन भाषा क्रेओल हुँदै नव भाषा बने झैँ संस्कृतबाट वि.सं. १०३८ को दामुपालको दुल्लुस्थित शिलालेखपछि नेपाली भाषा आफ्नै किसिमले समृद्ध हुँदै गइ रहेको विभिन्न अध्ययनहरूबाट पुष्टि हुन्छ । परिवर्तनलाई आत्मसात् गर्नु युगलाई र युगको सहजताप्रतिको मोहलाई चिन्नु हो । भाषामा आउने अराजकतालाई रोक्दै थप स्पष्ट रूपमा प्रयोक्ताहरू माझ नेपाली भाषालाई परिचित गराउने काममा विद्वत्तवर्गहरू लाग्नु पर्ने देखिन्छ ।

यति बेला भाषा व्याकरणको क्षेत्रमा निकै विवाद उत्पन्न भइ रहेको छ । यस अवस्थामा केही टीका टिप्पणी गर्नु र स्पष्ट जानकारी गराउनु अत्यावश्यक हुन्छ । एकातिर एउटा व्याकरण अनुसार पठन पाठन हुने अनि अर्कोतिर अरू नै सैद्धान्तिक परम्परालाई अपनाउने पद्धति कदाचित पनि बौद्धिकता सुहाउँदो कुरा होइन । विभिन्न विश्व विद्यालयहरू त परै जाओस् दस जोड दुईकै पाठ्यक्रममा पनि अनिवार्य नेपाली र ऐच्छिक नेपालीका भिन्न भिन्न भाषा व्याकरण भएका पाठ्य पुस्तक उपलब्ध भइ रहेको छ । यस्तो अवस्थामा प्राध्यापक तथा विद्यार्थीहरू रचनात्मकभन्दा बढी भ्रमबाट ग्रस्त बनि रहेका छन् । यस किसिमको अव्यावहारिक र अपरिपक्व अध्ययन अध्यापन गर्दै जटिल स्थितिको सृजना गर्ने संस्कारको अन्त्य गर्दै सुधारको बाटो अवलम्बन गर्नु अत्यावश्यक छ ।

नेपाली भाषा, व्याकरण र साहित्यलाई संस्कृत भाषा, व्याकरण र साहित्यबाट मात्रै होइन भारतीय लिपिगत प्रभावबाट समेत छुट्याउँदै मौलिक बनाउने अभियानमा सम्पूर्ण विद्वत् वर्ग लाग्नु पर्ने देखिन्छ । यस अध्ययनमा नेपाली भाषा तथा व्याकरणको उत्पत्ति, विकास र मानकीकरण : समस्या र सम्भावनाबारे मूल्याङ्कन गर्दै वर्तमान विवाद उचित वा अनुचित भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।

भाषाका आधुनिकीकरण मानकीकरणका प्रक्रियाहरू

भाषाको आधुनिकीकरण भन्नाले आधुनिक युगका आवश्यकता अनुसार भाषिक क्रियाकलाप गर्न भाषालाई सक्षम बनाउँदै लैजानु भन्ने बुझिन्छ । समाजको आवश्यकतालाई ध्यानमा राखी भाषालाई सहज सम्पे्रषणीय बनाउनु आधुनिकीकरण हो । भाषालाई स्तरयुक्त बनाउने कार्य आधुनिकीकरणले गर्दछ । समाजको विविध पक्षको विकासका लागि अभिव्यक्त गरिने स्तरीय भाषिक रूपलाई भाषाको मानक रूप मानिन्छ । समाजका बौद्धिक, शैक्षिक, सांस्कृतिक आदि पक्षको विकासका साथसाथै त्यसलाई व्यक्त गर्ने, ग्रहण गर्ने तथा सम्प्रेषण युक्त बनाउन शिष्ट, स्तरीय, मानवीय तथा मान्यता प्राप्त भाषाको निर्माण गर्दै जानु र सोही अनुसार भाषिक प्रयोगको क्षेत्र विस्तार गर्नु मानकीकरणका कार्य हुन् । यसरी भाषाको मानक तयार हुँदै जान्छ  । ठुलो क्षेत्रमा प्रयोग हुनु, धेरै वक्ताले प्रयोग गर्नु, शैक्षिक, साहित्यिक लगायत औपचारिक कार्यमा प्रयोग हुनु मानक भाषाका विशेषता हुन् । मानक भाषा सबै भाषिकाका वक्ताहरूको स्वीकार्य  भाषिका हो । भाषाको मानक निर्माण गर्ने प्रक्रियालाई मानकीकरण भन्न सकिन्छ ।

भाषाको आधुनिकीकरण र मानकीकरण सँगसँगै हुने प्रक्रिया हुन् । आधुनिकीकरणले मानकीकरणमा सहयोग गर्दछ । भाषाको आधुनिकीकरण र मानकीकरणका प्रक्रियाहरूलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ :

२.छनोट

छनोट अर्थात् चयनको अर्थ समाजमा प्रयोग भइ राखेका भाषामध्ये उपयुक्त प्रयोजनका लागि भाषिक भेद छान्ने काम गर्नु हो । यसरी छान्दा निश्चित मापदण्डका आधारमा छनोट गरिन्छ । भाषाका क्षेत्रीय भेद वा अन्य भेदमध्येका कुनै भाषा लिइन्छ । भाषाको केन्द्र वा राजधानी, प्रमुख सहर वा वक्ताहरूको बाहुल्य रहेको स्थानमा बोलिने भाषालाई मानक भाषाको रूपमा मान्ने प्रचलन छ । त्यसै गरी सांस्कृतिक र ऐतिहासिक पक्ष, साहित्यिक र शैक्षिक पक्षलाई पनि आधार मानिएको पाइन्छ । नेपाली भाषाको सन्दर्भमा पुर्बेली उपभाषिकालाई मानक भाषाको मान्यता दिएको देखिन्छ ।

२.२       कोडीकरण

भाषाको मानक स्तर निर्धारण गर्न छनोट गरेपछि त्यसलाई व्यापक जन मानसमा लैजान र त्यसलाई लोकप्रिय बनाउन विभिन्न कार्यहरू गर्ने गरिन्छ । ती कार्यहरू कोडीकरण अन्तर्गत पर्दछन् । भाषालाई नियम सङ्गत, सरल र सहज एक रूपता प्रदान गर्न व्याकरणको निर्माण गर्ने गरिन्छ । शब्द प्रयोगलाई सहज बनाउन शब्दकोशको निर्माण, हिज्जेको मानक स्तर निर्माण, लिपिको निर्धारण जस्ता कार्यहरू गर्नु कोडीकरण हुन् । यो मानकीकरणको दोस्रो चरणमा सम्पन्न गरिन्छ ।

२.३       विस्तार

विस्तार भन्नाले भाषाको क्षेत्र विस्तार र कार्य विस्तारलाई बझ्नु पर्छ । सामाजिक प्रयोगका निम्ति छानिएको भाषालाई व्यापक र विस्तृत क्षेत्रमा फैलाउने कार्य यसले गर्दछ । वक्ताहरूको सङ्ख्या वृद्धि, कथ्य भेदबाट स्तरीय लेख्य रूपमा विकसित हुनु, सरकारी गैर सरकारी कार्यालयमा औपचारिक काममा प्रयोग हुनु, विश्व विद्यालय एवम् अन्य शैक्षिक क्षेत्रमा प्रयोग गर्नु विस्तार अन्तर्गत पर्दछन् ।

२.४       स्वीकृति

भाषाको मानकीकरण र आधुनिकीकरणको चौथो तथा अन्तिम प्रक्रियालाई स्वीकृतिको चरण भनिन्छ । भाषालाई प्रयोगका लागि मान्य हुने वा प्रचलनमा ल्याउन सक्ने तयारी गर्नु नै स्वीकृति हो । समाजका व्यक्तिहरूले नरुचाएको भाषा मानक भाषा बन्न सक्दैन । जबरजस्ती मानकीकरण गर्न खोजेर भाषा लोकप्रिय र मानक बन्न सक्दैन । समाजका वक्ताहरूले सहज ढङ्गले प्रयोग गर्नु नै स्वीकृतिको नमुना हो । भाषाले स्वीकृति प्राप्त गरेपछि मानकीकरण प्रक्रियाले पूर्णता प्राप्त गर्दछ । अहिलेको विवाद स्वीकृतिको प्रक्रियाबाट अघि बढ्दै छ । यस्तो समयमा सरकारी पक्षबाट हस्तक्षेप गरिनुभन्दा यसलाई भाषा मानकीकरणकै चरण हो भनी समर्थन गर्नु बुद्धिमानी हुन्छ ।

देव नागरी लिपिको उद्भव विकास

देव नागरी लिपि नेपालका विभिन्न भाषा भाषाहरूले व्यापक रूपमा प्रयोग गर्ने प्रथम लिपि मानिन्छ । इ.पू. पाँचौँ शताब्दीदेखि सन् ३५० सम्म प्रचलित ब्राह्मी लिपिको दुई शाखा– उत्तरी र दक्षिणी शैलीमध्ये देव नागरी लिपिको विकास उत्तरी शैलीबाट भएको हो । ब्राह्मी दक्षिण एसियाकै सबैभन्दा पुरानो लिपि हो । यसलाई कसैले अर्माइक, कसैले खरोष्ठी र कसैले ग्रिसेली लिपिबाट विकसित भएको मानेका छन् । यस लिपिको नमुना पाँचौँ शताब्दीको राजा अशोकको शिलालेखहरूबाट प्राप्त भएका छन् । प्राचीन नेपालका सिन्जाली खस राजाहरूद्वारा लेखिएका शिलालेखमा तथा अभिलेखहरूमा यही देव नागरी लिपिको प्रयोग भएको पाइन्छ ।

इसापूर्व पाँचौँ शताब्दीदेखि सन् ३५० सम्म प्रचलित ब्राह्मी लिपिको दुई शाखामध्ये उत्तरी शाखाबाट गुप्त लिपिको विकास हुन गयो । ब्राह्मी लिपिबाट विकसित गुप्तलिपि इसाको ३५० देखि ५०० सम्म प्रचलनमा रह्यो । नेपालमा यसलाई पूर्व लिच्छिवी लिपिका रूपमा चिनिएको पाइन्छ । गुप्त लिपिबाट कुटिल लिपिको लगभग इ.सं. ६०० देखि ८०० सम्म प्रचलनमा रह्यो । कुटिल लिपि पछिको अवस्थामा प्राचीन देव नागरी लिपिको नामले परिचित भयो । आठौँ शताब्दीतिर आधुनिक देव नागरी लिपिको विकास भएको मानिन्छ ।

भारोपेली परिवार नेपाली भाषा

भारोपेली भाषा विश्वकै सबैभन्दा बढी मानिसले बोल्ने भाषा हो । एसिया, युरोपदेखि अमेरिकासम्म यस परिवारका भाषाहरू बोलिन्छन् । भारतेली र युरोपेली दुई शब्दलाई मिलाएर भारोपेली बनाइएको हो । विस्तृत भू–भागमा फै लिएको, धेरै मानिसले बोल्ने विकसित भाषाको रूपमा यस परिवारका भाषाहरू रहेका छन् । भारोपेली भाषा परिवारलाई दुई वर्गमा विभाजित गरी अध्ययन गर्ने गरिएको पाइन्छ । ती दुई वर्गमा सतम् वर्ग र केन्तुम वर्ग रहेका छन् । सतम् वर्गमा बालटेली, स्लाभेली, आर्मेनियाली, अल्बानियाली, आर्य–इरानेली, दरद, आर्य (नेपाली, हिन्दी, अवेस्ता) भाषाहरू रहेका छन् भने केन्तुम् वर्गमा केल्टेली, जर्मनेली, डेनिस, ल्याटिनेली, तोखारेली परिवारका भाषाहरू रहेका छन् ।

नेपाली भाषाको उत्पत्तिबारे बताउनु पर्दा यसको पृष्ठभूमितर्फ ध्यान दिनु पर्ने हुन्छ । नेपाली भाषा भारोपेली भाषा परिवारको सतम् वर्गभित्र पर्ने भाषा हो । यसको सम्बन्ध आर्य–इरानेली शाखाको आधुनिक आर्य भाषासँग रहेको पाइन्छ । नेपाली भाषा आधुनिक आर्य भाषाहरूमध्ये एक भएकाले यसको सम्बन्ध संस्कृत, प्राकृत र अपभ्रंशसँग जोड्नु पर्ने हुन्छ । नेपाली भाषा संस्कृत मूलबाट प्राकृत र अपभ्रंश हुँदै खस भाषा बन्न पुगेको मानिन्छ ।

विभिन्न विद्वान्हरूले आर्य भाषाको उत्पत्तिको अध्ययन गरेका छन् । जर्ज ग्रियर्सनले आर्य भाषाको केन्द्रीय उपशाखाभित्रको पहाडी भेदबाट नेपाली भाषाको उत्पत्ति भएको मानेका छन् । डा. सुनीति कुमार चटर्जीले आधुनिक आर्य भाषाका पाँच भेदमध्ये उदीच्य भेद अन्तर्गत उदीच्य खसबाट कुमाउनी, गढवाली र नेपाली भाषाको विकास भएको मानेका छन् । नेपाली विद्वान्हरू डा. बल्लभमणि दाहाल र डा.चूडामणि बन्धुले नेपाली भाषाको उत्पत्ति खस प्राकृत र खस अपभ्रंशबाट भएको मानेका छन् ।

आर्य शाखाको प्राचीन रूप संस्कृत भाषा हो । यसलाई प्राचीन आर्य भाषा भनिन्छ । यसको अनुमानित समय इ.पू. १५०० देखि इ.पू. ५०० सम्म मानिन्छ । वैदिक संस्कृत आर्य भाषाको प्राप्त सर्वाधिक पुरानो रूप हो । यसपछि लौकिक संस्कृतको विकास भयो । इ.पू. ५०० देखि इस्वीको १००० सम्मलाई मध्य कालीन आर्य भाषाको समय मानिन्छ । यस समयमा संस्कृत भाषाबाट पाली, प्राकृत, प्राकृत अपभ्रंश भाषाहरूको विकास भयो । यिनै भाषाहरूबाट इस्वीको १००० पछिको समयमा अन्य आर्य भाषासँगै नेपाली भाषाको विकास भएको हो । यस क्रममा संस्कृत, प्राकृत, अपभ्रंश, खस हुँदै नेपाली भाषाको विकास भएको मानिन्छ ।

नेपाली भाषाको उत्पत्ति यस सम्बन्धी मत मतान्तर

नेपाली भाषाको उत्पत्ति कहाँबाट कसरी भयो भन्ने विषयमा पनि व्यापक अध्ययन भएको देखिन्छ । नेपाली भषाको उत्पत्तिका विषयमा विभिन्न विद्वान्हरूले अध्ययन गरेका छन् । ती विद्वान्हरूका मतहरूलाई हेर्दा नेपाली भाषाको उत्पत्तिका विषयमा भिन्न भिन्न मतहरू प्रस्तुत भएको देखिन्छ ।

आर्य शाखाको प्राचीन रूप संस्कृत भाषा हो । यसलाई प्राचीन आर्य भाषा भनिन्छ । जसको अनुमानित समय इ.पू. १५०० देखि ५०० इ.पू.सम्म मानिन्छ । वैदिक संस्कृत आर्य भाषाको प्राप्त सर्वाधिक पुरानो रूप हो भने त्यसपछि लौकिक संस्कृतको विकास भएको मानिन्छ । इ.पू. ५०० देखि इ.पू. १००० सम्मलाई मध्य कालीन आर्य भाषाको समय मानिन्छ । यस समयमा संस्कृत भाषाबाट पाली प्राकृत, साहित्यिक प्राकृत र प्राकृत अपभ्रंश भाषाहरूको विकास भयो । यिनै भाषाहरूबाट इ.सं. को ११ औँ शताब्दीमा विभिन्न आधुनिक आर्य भाषाहरूको विकास भएको हो । यस क्रममा संस्कृत प्राकृत, अपभ्रंश, खस हुँदै नेपाली भाषाको विकास भएको भानिन्छ । यस विषयमा विभिन्न विदेशी तथा स्वदेशी विद्वान्हरूका भिन्न भिन्न मतहरू छन् ।

५.विदेशी विद्वान्हरूको मत

होर्नले : आधुनिक आर्य भाषाहरूको विभाजन गर्ने प्रथम व्यक्ति होर्नले हुन् । यिनले आधुनिक आर्य भाषालाई  पूर्वी गौडा, पश्चिमी गौडा, दक्षिणी गौडी र उत्तरी गौडी भनी विभाजन गरेर नेपाली भाषालाई उत्तरी गौडीमा राखेका छन् । यिनका अनुसार उत्तरी गाडीको सम्बन्ध शौरसेनी प्राकृतसँग छ ।

ग्रियर्सन : आधुनिक आर्य भाषाको विभाजन गर्ने अर्का व्यक्ति ग्रियर्सन हुन् । यिनले होर्नलेको अध्ययनलाई आधार बनाएर आर्य भाषाहरूको विभाजन गरे । यिनले आधुनिक आर्य भाषाहरूलाई मध्य देशीय, आभ्यन्तर र बाह्य गरी विभाजन गरे । यिनले  शौरसेनी प्राकृतको अपभ्रंशबाट नेपाली भाषाको विकास भएको मत प्रस्तुत गरेका छन् ।

सुनीति कुमार चटर्जी : चटर्जीले १९१६ मा प्रकाशित बङ्गाली भाषाको उत्पत्ति र विकास नामक पुस्तकमा आर्य भाषाहरूलाई दक्षिणात्य, प्राच्य, मध्य देशीय, प्रतीच्य र उदीच्य गरी पाँच भागमा विभाजन गरेका छन् । नेपाली भाषालाई प्रतीच्य अन्तर्गत राखेका छन् ।

हिन्दीका वरिष्ठ भाषा शास्त्री भोलानाथ तिवारीले शौरसेनीको पूर्वी पहाडी भेदमा नेपाली भाषालाई राखेका छन् भने अर्का भाषा शास्त्री कपिलदेव द्विवेदीले खस अपभ्रंशको पूर्वी पहाडी भेदमा नेपाली भाषालाई राखेका छन् ।

५.स्वदेशी विद्वान्हरूको मत

नेपाली भाषाको उत्पत्ति  सम्बन्धी चर्चा गर्ने प्रथम नेपाली विद्वान् सूर्य विक्रम ज्ञवाली हुन् । उनले नेपाली भाषालाई शौरसेनी प्राकृतको विकसित रूप मानेका छन् । यस विषयमा चर्चा गर्ने अर्का स्वदेशी विद्वान् बालकृष्ण पोखरेलले राष्ट्रभाषा नामक कृतिमा नेपाली भाषाको जन्म शौरसेनी प्राकृत हुँदै खस अपभ्रंशबाट भएको उल्लेख गरेका छन् । नेपाली भाषाका आधिकारिक र प्रमुख अनुसन्धान कर्ता चूडामणि बन्धुले आफ्नो नेपाली भाषाको उत्पत्ति नामक पुस्तकमा नेपाली भाषाको उत्पत्ति हिमाली वर्गमा पर्ने खस अपभ्रंशबाट भएको बताएका छन् ।

यसरी नेपाली भाषाको उत्पत्तिका सम्बन्धमा विभिन्न विदेशी तथा स्वदेशी विद्वान्हरूले आआफ्नो मत प्रस्तुत गरेका छन् । ती मतहरू एक आपसमा बाझिएका छन्, तापनि नेपाली भाषाको उत्पत्ति संस्कृत भाषाबाट प्राकृत अपभ्रंश खस हुँदै विकसित भएको मान्न सकिन्छ ।

नेपाली भाषाको मानकीकरण प्रयास

नेपाली भाषाको मानकीकरण निकैपछि आएर मात्र भएको देखिन्छ । नेपाली भाषाको अध्ययनमा सर्व प्रथम विदेशी विद्वान्हरूले चासो राखेपछि स्वदेशी विद्वान्हरूले पनि यसप्रति चासो राख्दै नेपाली भाषाको अध्ययन सँगसँगै मानकीकरणतर्फ प्रयास गरेको देखिन्छ । सबैभन्दा पहिला नेपाली भाषाको चर्चा कसियानो बेलिगत्तिको अल्फाबेटस ब्रह्मानिकम ऐन युनिभर्सिटाइटिस कासी (रोम–इ.१७७१) भन्ने पुस्तकमा भएको मानिन्छ । अहिलेसम्म खोज अनुसन्धानले प्राप्त गरेको जानकारी अनुसार यो पुस्तकमा नै पहिलो पटक नेपाली भाषाको अध्ययनबारे चर्चा भएको पाइन्छ । यसै पुस्तकको भूमिका लेख्ने क्रममा जोन्स क्रिस्टोफोरस आमाडुरिसले नेपाली भाषाको नाम राखेको पाइन्छ ।

कर्कप्याट्रिकले पनि नेपाली भाषाको अध्ययन प्रयासमा महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । उनले आफ्नो पुस्तक An Account of the Kingdom of Nepal (नेपाल अधिराज्यको वितरण) भन्ने पुस्तकमा नेपालका आठ ओटा भाषाहरूको उल्लेख गरेको पाइन्छ । उनले प्रस्तुत गरेका आठ ओटा भाषाहरूमा पर्वते, नेवारी, दनुवारी मग्राती, किराती, वायु वा हायु, लिम्बु र भोटे देखिन्छन् । यसै क्रममा जेए. एटन, केलग, रुडल्फ होर्नले, टर्नबुल जस्ता विदेशी विद्वान्हरूले नेपाली भाषाको अध्ययनमा विशेष चासो प्रस्तुत गरेको देखिन्छ । जेए. एटनको Grammar of the Nepali Language (नेपाली भाषाको व्याकरण) नामक ग्रन्थ कलकत्ताबाट प्रकाशित प्रस्तक देव नागरी लिपिको हावामा नेपाली भाषा सर्व प्रथम उल्लेख भएको पाइन्छ । यो पुस्तक नेपाली भाषाको पहिलो पुस्तकका रूपमा देखा पर्दछ ।

नेपाली भाषाको मानकीकरणतर्फ धेरै विद्वान् तथा नेपाली भााषामा प्रकाशित व्याकरण तथा पत्र पत्रिकाहरूले भूमिका खेलेको पाइन्छ । स्वदेशी विद्वान्का रूपमा सुब्बा विरेन्द्र केशरी अर्याल नै नेपाल भाषाको अध्ययन र व्याकरणको चर्चा गर्ने पहिला व्यक्ति हुन् । वि.सं. १९६३ मा प्रकाशित सुन्दरी पत्रिकाको ‘बेसरी’ मा भाषा काव्यका सैद्धान्तिक पक्षलाई पूर्वीय ढङ्गले उठाएका छन् । यस काव्य लक्षण लेखमा काव्य रचनाका निम्ति शब्दानुशासनको आवश्यकता पर्ने कुरा उनले औँल्याएको पाइन्छ । यसै गरी वि.संं १९५८ मा ‘गोरखा पत्र’ प्रकाशित भएपछि नेपाली भाषाको आधुनिक कालको चहलपहल सुरु भई मानकीकरणतर्फ विशेष चासोहरू बढ्दै गएको पाइन्छ । खासमा वि.संं १९६३ मा प्रकाशित सुन्दरी पत्रिकाबाट मात्रै भाषिक अध्ययनतर्फको चासो बढ्दै गएको देखिन्छ । वि.सं. १९६५ को माधवी पत्रिका र राममाणि आ.दी. को सक्रियतामा नेपाली भाषाले ठुलो सहयोग प्राप्त ग¥यो । नेपाली भाषामा ‘हलन्त बहिस्कार’ आन्दोलनको प्रारम्भसमेत भएर नेपाली भाषामा व्याकरणात्मक स्त्री लिङ्ग शब्दको प्रयोग गर्न थालियो ।

नेपाली भाषाको मानकीकरण प्रयासमा आधारका रूपमा जयपृथ्वी बहादुर सिंहको प्राकृत व्याकरण (वि.सं. १९६८), विश्वमणि दीक्षिताचार्यको गोरखा व्याकरण बोध (वि.सं. १९६९) र पं. हेमराजको चन्द्रिका (वि.सं. १९६९) जस्ता पुस्तकहरू आएको देखिन्छ । वास्तवमा हेमराजको चन्द्रिका व्याकरणको पुस्तक प्रकाशनपछि नै नेपाली भाषामा मानकीकरणका विषयमा अझ गम्भीर चासो र प्रयासको थालनी भयो । यस पुस्तक नेपाली भाषामा लेखिएका व्याकरणहरूमध्ये सबैभन्दा विस्तृत, व्यापक र गहन देखिन्छ । यसै क्रममा इ. १९१८ मा कलकत्ता विश्व विद्यालयले म्याट्रिक, आइए र बिएसम्म नेपाली भाषालाई स्वीकार गरेको र नेपाली भाषाको पाठ्यक्रममा पारसमणि प्रधान र जयपृथ्वी बहादुर सिंहको योगदान रहेको समेत उल्लेख पाइन्छ । वि.सं. १९७६ मा नेपालका विद्वान् सोमनाथ सिग्द्यालको मध्य चन्द्रिका व्याकरण प्रकाशित भयो । यस पुस्तकले पनि नेपाली भाषाको मानकीकरणमा विशेष योगदान पु¥याएको देखिन्छ । अहिले पनि यस पुस्तकको महत्त्वबारे अध्ययन र चर्चा हुने गरेको पाइन्छ ।

वि.सं. १९८८ मा विदेशी विद्वान् ज्याल्फ लिले टर्नरले नेपाली भाषाको तुलनात्मक र व्युत्पत्तिपूर्ण शब्दकोश (A Comparative and Etymological Dictionary of Nepali Lauguage) प्रकाशित गरे । आधुनिक नेपाली भाषाको अध्ययनमा यस पुस्तकले विशेष महत्त्व राखेको पाइन्छ ।

यसै गरी वि.संं. १९९१ मा शारदा पत्रिकाको प्रकाशनसँगै नेपाली साहित्यको आधुनिक कालको सुरुआत र भाषा  सम्बन्धी अनेकौं अध्ययन प्रयास सुरु भए । यस पत्रिकाले भाषासम्बन्धी अनेकौँ समस्यालाई बौद्धिक वर्णमा पु¥याई नेपाली भाषाको मानकीकरणका लागि झकझकाउने कार्य ग¥यो । यसै गरी १९९१ सालमा नेभाप्रसले नेपाली कसरी शुद्ध लेख्ने ? भन्ने सानो पुस्तिका प्रकाशन गरी नेपाली भाषाको स्तरीकरण र मानकीकरणमा गहन अभिरुचि प्रस्तुत ग¥यो । यो पुस्तिकाले लिखित भाषालाई निश्चित एक रूपताको गोरेटोतिर हिँडाउन ठुलो सहयोग पु¥यायो । यसै क्रममा पुष्कर शमशेरको प्रधान सम्पादकत्वमा दुई भागमा क्रमश: १९९२ र १९९५ सालमा प्रकाशित अङ्ग्रेजी–नेपाली कोशले यस परम्परामा थप योगदान पु¥यायो । त्यस्तै रामचन्द्र ढुङ्गानाको नेपाली शब्दकोश (२००८) को पनि थप सहयोग यस प्रयासले ग्रहण ग¥यो ।

२००८ सालमा महानन्द सापकोटाको विशेष सक्रियतामा इलामको करफोकमा स्थापित ‘नेपाली भाषा प्रचारक सङ्घ’ ले नेपाली भाषाको अध्ययन र मानकीकरणमा विशेष जोड दियो । देशको राष्ट्रिय शिक्षा प्रणालीमा परिवर्तन ल्याउन र नेपाली भाषालाई सशक्त बनाई पाठ्य पुस्तक र कोश बनाउने कुरा यसले जोड्तोडका साथ उठायो । यसपछि विद्वान् रामराज पन्तले सर्व प्रथम नेपाली भाषाको भाषा वैज्ञानिक अध्ययनको सूत्रपात गरे । उनको नेपाली भाषा विज्ञान (२०१६) नामक पुस्तक नै भाषाको भाषाको भाषा वैज्ञानिक र सैद्धान्तिक दुबै पक्ष समेटेको पहिलो पुस्तक मानिन्छ । त्यसै गरी बालकृष्ण पोखरेलको नेपाली भाषाको कथा २०१९, पाँच सय वर्ष २०२०, नेपाली भाषा र साहित्य २०२१, राष्ट्रभाषा २०२२, चूडामणि बन्धुको नेपाली भाषाको उत्पत्ति २०२५, भोजराज ढुङ्गेल, दुर्गा प्रसाद दाहालको प्रयोगिक भाषा विज्ञान २०५८ जस्ता पुस्तकहरूले नेपाली भाषाको मानकीकरण एवम् आधुनिकीकरणमा थप योगदान पु¥याएका छन् । त्यस्तै स्वदेशी विद्वान्हरूका विद्यावारिधि शोध पत्रहरूले नेपाली भाषाको मानकीकरणमा विशेष योगदान पु¥याएको देखिन्छ ।

यसरी नै नेपाली भाषाका वर्ण विन्याससम्बन्धी नियमहरू समय क्रमसँगै परिवर्तन गर्नु पर्ने कुरालाई जोड दिएर नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा सञ्चालित नेपाली भाषा सङ्गोष्ठी (२०६९) ले पनि नेपाली भाषाको मानकीकरणमा नयाँ ढङ्गको थालनी गरेको पाइन्छ । यसलाई नेपाल सरकार माननीय मन्त्री स्तरको मिति २०६९ साउन २३ गतेको वर्ण विन्यासगत निर्णयले अनुमोदन गर्दै पाठ्यक्रम विकास केन्द्रद्वारा नेपाली वर्ण विन्याससम्बन्धी वैज्ञानिक ढङ्गको प्रकाशन शैली (२०७०) पुस्तिकासमेत प्रकाशन गरिएको छ ।

नेपाली भाषाको प्राचीन रूप

प्राचीन नेपाली भाषाको समय उत्पत्ति कालदेखि १५५४ सम्मलाई मानिन्छ । यसको सुरुआत वि.सं. १०३८ को दुल्लुको दामुपालको शिलालेखलाई आधार मानी सोही शताब्दीलाई मानिन्छ । कर्नाली प्रदेश सिन्जा उपत्यकाबाट खस भाषाको आरम्भ भएको अभिलेखहरूले पुष्टि गरेका छन् ।

दामुपालको शिलालेखमा उल्लेखित ‘ओम पद्मे हुँ दामुपाल भूपाल रेख भई । किष्णु अडैको भाई सउपाल अडै सा ९०३’ ले प्राचीन भाषाको स्वरूपलाई देखाएको छ । त्यसै गरी अन्य नमुनाहरूमा १३१२ को अशोक चल्लको हुम्ला जिल्लाको केलिङ गुम्बाको ताम्रपत्र– ‘हाम्रा अटली अटलकरि अक्रया छु’, वि.सं. १४४६ को मलय बर्माको ताम्रपत्र– ‘…..हरिदत्त अधिकारी बाहुन्ले पायो मंघर डगृको यमेत पाष्यो जग्गा पुव सुयाड पसि रातोमाटो उत्त्र घनघाट गाडषेत…’ रहेका छन् । प्राचीन कालको अन्तिम नमुना मानिने  वि.सं. १५५० को गगनीराजको यात्रा नामको कृतिको भाषा यस्तो रहेको छ–स्वस्ति श्री साके १४१५ मासे कार्तिक तिर्था र वासरे २ नक्षत्रे १ करने २ मोहोत्रे ७ लगने ८ श्री राजाश्री गगनीराजले भूमि अंससक वैसा गरि गया भै छ : मष भषका क्ष्येकाका माटि ।’ यी नमुनाहरूबाट नेपाली भाषाको क्रमिक विकास भएको पाइन्छ ।

नेपाली भाषाको माध्यमिक रूप

नेपाली भाषा विकासको माध्यमिक कालको सुरुआत वि.सं. १५५५ लाई मानिन्छ । यसै सालको धव कर्मठद्वारा लिखित कार्बोरिक विवोष शाहीको ताम्रपत्रमा मध्य कालीन नेपाली भाषाको लक्षण पाइन्छ । वि.सं.१९५८ मा ‘गोरखा पत्र’को प्रकाशन नहुँदासम्मको अवधि मध्य काल हो । प्राचीन कालका विपरीत यस अवधिका शिलालेख र साहित्यमा प्रचलित नेपाली बढी सहज र बोधगम्य हुँदै गएको पाइन्छ । यस कालका भाषाहरूका केही नमुना निम्न अनुसार छन् :

राजा प्रताप मल्लको वि.सं. १७२७ तिरको रानी पोखरीको अभिलेखको नमुना– एक दिन तिर्थको अनेक अनेक फल । एति तिर्थ सवै यो पोषरिमाहा छ । यो पोषरीमा स्तान गरिकन देव तप्र्पन वितरतप्र्पन सध्या आदि समस्त कर्म जसले ग¥यो, यति तिर्थमाहास्नान ग¥याको पुण्य पावनु छ । पृथ्वी नारायण शाहको वि.सं. १८३१ को दिव्योपदेश– मेरा साना दुःखले आज्र्याले मुलुक होइन, सबैलाई चेतना भया ।  भानुभक्तीय रामायणको श्लोक– एक्दिन् हे हनुमान् म चित्रकुटमा रामका नजिक्मा थिञाँ । मेरा काख्महा सुत्या र रघुनाथ् हातको तकिया दिञाँ ।

. नेपाली भाषाको आधुनिक रूप

आधुनिक नेपाली भाषाका सुरुआत बिसौँ शताब्दीको मध्यतिरबाट भएको मानिन्छ । वि.सं. १९५८ मा ‘गोरखा पत्र’ प्रकाशन सुरु भएपछि नेपाली भाषाले आधुनिक युगमा प्रवेश गरेको मानिन्छ । त्यस यता साहित्यिक गतिविधिले गणात्मक तीव्रता पाउनु, राणा शासनको अन्त्यपछि शिक्षाको दू्रत विकास हुनु, भाषिक अध्ययन र अनुसन्धान बढ्नु, भाषाको स्तरीकरण र आधुनिकीकरणमा व्यक्तिगत र संस्थागत प्रयासहरू बढ्नु जस्ता कुराहरूबाट नेपाली भाषाले आधुनिकता प्राप्त गर्दै गएको देखिन्छ । हिजोभन्दा आज, आजभन्दा भोलिलाई आधुनिक काल मानिन्छ । त्यस्तै भाषा पनि निरन्तर आधुनिक बन्ने, विकास हुँदै जाने वस्तु हो ।

वर्तमान अवस्थामा नेपाली भाषाले व्यापकता पाइ सकेको छ । यसमा बर्सेनि थुप्रै साहित्यिक कृतिहरू लेखिन्छन् । नेपाली भाषा उच्च माध्यमिक तहसम्म अनिवार्य विषयको रूपमा शैक्षिक संस्थाहरूमा पढाइन्छ । यसका शब्दकोशहरू पनि विकसित रूपमा प्राप्त छन् । औपचारिक कामकाजको भाषा, माध्यम भाषा जस्ता विशेषता हुनु नेपाली भाषाका उल्लेख्य पक्षहरू हुन् ।

१० नेपाली भाषाको स्तरीकरणमा हलन्त बहिष्कार आन्दोलन

नेपाली भाषाको स्तरीकरणमा विभिन्न समयमा भएका विविध भाषिक आन्दोलनहरूको विशेष भूमिका रहेको छ । ती भाषिक आन्दोलनमध्ये हलन्त बहिष्कार आन्दोलन नेपाली लेख्य भाषाको विकासमा महत्त्वपूर्ण मानिन्छ । हलन्त ( ् ) राखेर औच्चरिक भाषा जस्तै लेख्य भाषा बनाउने तत् कालीन प्रचलनका विपरीत भाषालाई सम्प्रेषणीय र व्यापक प्रयोग योग्य बनाउने उद्देश्यले राममणि आ.दी. को अगुवाइमा यो अभियानको सुरुआत भएको थियो । वि.सं. १९७० मा गोरखा भाषा प्रकाशिनी समितिका अध्यक्ष बन्न पुगेका राममणि आ.दी. वि.सं. १९६५ मा माधवी पत्रिकामा मातृ प्रसाद शर्मा अधिकारीको छद्म नामबाट कविता रीति  शीर्षकको लेखमार्पmत् ‘हलन्त बहिष्कार’ मान्यताको थालनी गरे ।

राममणि आ.दी. को तर्क अनुसार अक्षरमा खुट्टा काट्नाले शब्द र वाक्य भद्दा देखिने हुँदा यस्तो प्रणालीलाई हटाइनु पर्छ भन्ने उनको मान्यता थियो । हलन्त बहिष्कारसम्बन्धी आ.दी. को भनाइ यस्तो रहेको थियो– “…………प्राचीन निकृष्ट परिपाटी छोडी, नवीन सभ्य समाजले स्वीकृत गरेका परिपाटीसँग, उपयोगी पुस्तकहरूको प्रकाशन गराउने पनि यी पत्रिकाका अभिमत छ ।”

हलन्त बहिष्कार आन्दोलनलाई बालकृष्ण सम, शिखरनाथ सुवेदी आदिले विरोध गरेका थिए भने लेखनाथ पौड्याल, चक्रपाणि चालिसे आदिले समर्थन गरेका थिए ।

११ नेपाली भाषा विकास परिमार्जनमा झर्रोवादी आन्दोलन

नेपाली भाषामा हिन्दी, उर्दु, फारसी, अरबी, अङ्ग्रेजी आदि भाषाका शब्दहरूको व्यापक प्रयोग भई नेपाली भाषाले मौलिकपन गुमाउन लागेको महसुस गरी केही उत्साही भाषा सचेत युवाहरूले यस भाषाको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले झर्रोवादी आन्दोलनको सुरुआत गरेका हुन् । यस आन्दोलनको थालनी वि.सं. २०१३ मा भारतको बनारसबाट भएको हो । बनारसमा पढ्न बसेका नेपाली विद्यार्थीहरू तारानाथ शर्मा, बालकृष्ण पोखरेल र बल्लभमणि दाहाललाई यस अभियानको प्रमुख अगुवा मानिन्छन् । नेपाली भाषालाई सम्पन्न, समृद्ध र स्तरीयता प्रदान गर्न झर्रोवादी आन्दोलनको महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ । नेपाली साहित्य लेखन तथा भाषामा विदेशी भाषाका शब्दहरूलाई त्याग्दै ठेट अर्थात् झर्रा नेपाली शब्दको प्रयोग गर्नु र आवश्यकता अनुसार नेपाली भाषामा नरहेका शब्दहरू नेपालीमै निर्माण गरी प्रचलनमा ल्याउनु यस आन्दोलनको प्रमुख विशेषता थियो ।

झर्रोवादी आन्दोलन नेपाली भाषाको मौलिकपनलाई जोगाउन गरिएको भाषिक आन्दोलन हो । राणा शासनको वेलामा नेपाली भाषामा संस्कृतको अतिशय प्रभाव थियो । राणा दरबारमा नाटक देखाउने र गीत गाउने प्रचलनसँगै उर्दु, फारसी जस्ता भाषाहरूले प्रवेश पाए । खानदानी परिवारका व्यक्तिहरू भारतका विभिन्न सहरमा पढ्न जान्थे । अङ्ग्रेजी स्कुलमा अध्ययन गरेकाहरू सोही भाषामा बोल्न सक्नु ठुलो महानता सम्झन्थे भने संस्कृत अध्ययन गरोकाहरू नेपाली भाषालाई अनौपचारिक बोलीचालीको मात्र भाषा बनाउनु पर्छ, साहित्यमा संस्कृतको प्रयोग हुनु पर्छ भन्ने मान्यता राख्थे । यसरी देशभित्र खास भाषिक नीति नहुनु, शैक्षिक संस्थाहरू थोरै हुनु, विश्व विद्यालयहरूमा नेपाली भाषामाभन्दा अन्य भाषामा पढाइ हुनु जस्ता सन्दर्भहरूले नेपाली भाषालाई ठिमाहा भाषा बनाउँदै लगेको थियो ।

यस आन्दोलनले गति लिनु अघिसम्म नेपाली भाषाको विकृत रूप यस्तो थियो –“अगर हामी नेपालीहरूले आफ्नो देशको ताकाजाका ध्यान दिँदैनौँ देशको मागको बाबजुद हामी चल्छौँ त यो जोरसँग ऐलान गर्न सकिन्छ कि हामी आदमी होइनौँ बल्कि हैवान हौ“ ।”

अर्को उदाहरण : “उक्तुङ्ग हिमशैलको धवल प्राङ्गणमा निवास गर्दै पतीतपावनी कल्मष प्रक्षालन कार्यमा सुसम्पन्नता सरिता बाग्मतीको पवित्रोदक पान गर्दै पर्बत चूडामणि चन्द्रागिरीको नैकट्य पाएका काष्टमण्डपनिवासीहरू धन्य हुन्” आदि ।

यस्तो भाषिक प्रयोगले पाठक र भाषाबिच दूरी बढ्दै गयो । सर्व साधारण मानिसले भाषा बुझ्न कठिन हुन थाल्यो । माथिल्लो तहमा बस्ने कथित पढे  लेखेका वर्गले आपूmलाई जनताभन्दा ठुलो र जान्ने बुझ्ने सावित गर्न भाषाको दुरुह प्रयोग हुन थाल्यो । पाठ्य पुस्तक र साहित्यिक रचनामा भाषाको यस्तो प्रयोगले नेपाली भाषामा सुगमता, प्रयोगमा सरलता, बोधगम्यता, नेपाली भाषाको मौलिकपनको रक्षा, नेपालीमा भएका शब्दहरूको स्तरीयता जस्ता आवश्यकताहरू देखिए । यस आवश्यकतालाई पुरा गर्न झर्रोवादी आन्दोलन महत्त्वपूर्ण रहेको मान्न सकिन्छ । यस आन्दोलनले नेपाली भाषाका आवश्यकताहरू सम्पूर्ण रूपमा पुरा गरेको नभई भाषाको विकास र नेपाली मौलिकता जोगाउन यसले सहयोग गरेको पाइन्छ । ‘नौलो पाइलो’ पत्रिकालाई आफ्नो मुख पत्र बनाएको झर्रोवादी आन्दोलनले नेपाली भाषाको विकासमा केही सकारात्मक प्रभाव छाडेको छ ।

१२ वर्तमान समयमा देखिएको नेपाली भाषा वाद, विवाद संवाद

लोकतन्त्र आइ सकेपछि नेपाली भाषा र व्याकरणका क्षेत्रमा समेत नवीन तरङ्ग उत्पन्न हुन गयो । एटन, जयपृथ्वी बहादुर सिंहलाई नेपाली व्याकरण निर्माण गर्ने क्रमश: विदेशी र स्वदेशी विद्वान्का रूपमा चिनिने गरिएको कुरा त माथि नै उल्लेख गरिएको छ । वि.सं. २०६६ सम्म नेपाली भाषा व्याकरणमा संस्कृत, हिन्दी र अङ्ग्रेजी शब्दहरूको दबदबा रह्यो । वि.सं. २०६७ मा उच्च मा.वि.को पाठ्यक्रमका निम्ति साझा प्रकाशनबाट सबैको नेपाली पुस्तक प्रकाशन भएर आएपछि नेपाली भाषा, व्याकरण मौलिकताको बाटोतर्फ थप अघि बढ्यो । उक्त पुस्तकका लेखकहरू केशव सुवदी, जीवेन्द्र देव गिरी, ताराकान्त पाण्डेय, देविका राई, बद्री विशाला भट्टराई, महादेव अवस्थी, महेश्वर न्यौपाने, रमेश भट्टराई, लेखनाथ गुरागाईँ तथा हेमनाथ पौडेलले जुन ढङ्गले परम्पराप्रति फरक मत राखे त्यो चरम् विवादित पनि बन्न पुग्यो ।

वि.सं. २०६८ र २०६९ मा विभिन्न चरणहरूमा भएका विभिन्न खालका भाषाविद्हरूको भेला र सङ्गोष्ठीले विगतमा भएका कमी कमजोरीहरूलाई सच्याउँदै मध्यमार्गी बाटोबाट नेपाली भाषा मानकीकरण गर्ने निष्कर्ष निकाले । निष्कर्षपछि तत्कालीन शिक्षामन्त्री दिनानाथ शर्मासहितको मन्त्री स्तरको मिति २०६९ साउन २३ गतेको बैठकले वर्ण विन्यासगत निर्णय ग¥यो । जुन निर्णय मध्यमार्गी निर्णय थियो । पछि यही निर्णयलाई आत्मसात् गर्दै पाठ्यक्रम विकास केन्द्रले प्रकाशन शैली २०७० प्रकाशन ग¥यो ।

प्रकाशन शैलीकै नियमलाई आधार मान्दै अहिले तल्लो कक्षादेखि कक्षा नौसम्मका नेपाली भाषामा लेखिएका पाठ्य पुस्तक परिमार्जन भइ सकेका छन् भने कक्षा दसको पाठ्य पुस्तक अर्को शैक्षिक सत्र अर्थात् अहिले परिमार्जित नेपाली पढ्ने कक्षा नौका विद्यार्थीहरूले पढ्न पाउने छन् । यसैबिच हेमाङ्ग राज शर्मा र बद्री विशाल भट्टराईको प्रयोगात्मक नेपाली शब्दकोश (२०७०) र नेप्रप्रको नेपाली शब्दकोश परिमार्जन भइ सकेको छ ।

१३ वर्तमान भाषा परिमार्जनका तथ्यहरू

पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित प्रकाशन शैली (२०७०) तथा नेपाल सरकार माननीय मन्त्री स्तरको मिति २०६९ साउन २३ गतेको वर्ण विन्यासगत निर्णयलाई आधार मानी हालका परिमार्जित नयाँ नेपाली पाठ्य पुस्तकहरू छापिँदै आएका छन् । व्याकरण र शब्द प्रयोग समय अनुकूल परिमार्जन र परिष्कृत हुनु अपरिहार्य छ ।

नेपाली ६ स्वर र २९ व्यञ्जन ध्वनिहरू रहेका छन् । ६ स्वर र २९ व्यञ्जनको प्रयोग तद्भव, आगन्तुक र झर्रा शब्दहरूमा गरिन्छ । आधुनिक मानक नेपालीमा अ, आ, इ, उ, ए र ओ गरी ६ वटा स्वर ध्वनिहरू रहेका छन् । नेपाली भाषाको परम्परागत व्याकरणमा संस्कृतका ई, ऊ, ऋ, ऐ, औ, अं र अ: जस्ता संयुक्त वर्णलाई पनि स्वर वर्णका रूपमा पठन पाठन गरिँदै आएको भए पनि नेपालीका स्वर ध्वनि ६ वटा मात्रै हुन् ।

संस्कृत र हिन्दी भाषा प्रभावित परम्परित नेपाली व्याकरणमा ३६ व्यञ्जन वर्ण छन् । जसमध्ये आधुनिक नेपाली भाषाका व्यञ्जन वर्णहरू २९ वटा छन् । क, ख, ग, घ, ङ, च, छ, ज, झ, ट, ठ, ड, ढ, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स, र ह यस अन्तर्गत पर्दछन् । परम्परित नेपालीका ञ, ण, श, ष, क्ष, त्र, ज्ञ को प्रयोग तत्सम स्रोतका शब्दहरूमा मात्रै गरिन्छ ।

परिमार्जित नेपालीमा अङ्कलाई अक्षरमा लेख्दा केही परिवर्तन गरिएका छन् । जस्तो तीन, दश, बाह्र, तेह्र, बीस, पच्चीस, तीस, चालीस आदिका ठाउँमा क्रमश: तिन, दस, बार, तेर, बिस, पच्चिस, तिस, चालिस लेखिएका छन् । लेख्दा ह्र तर बोल्दा र ध्वनि आउने साह्रै, गाह्रो जस्ता शब्दमा आउने ह्रलाई रकरण गरी सारै, गारो बनाइएको छ । तŒव, महŒव जस्ता शब्दहरूमा प्रयोग हुने Œ वर्णलाई त्त् वर्णले लिपीकरण गरिएको छ । जसमा तत्त्व, महत्त्व जस्ता शब्दहरू टङ्कन भएका छन् । यस्ता प्रयोग सामन्यतया पृथक् भए जस्तो लागे पनि स्पष्ट लेखन र टङ्कनमा समेत यसले सहयोग पु¥याएको छ । यसबाट भुलवश वा अन्जानमै तत्व, महत्व लेख्ने गल्तीमा पनि सुधार आई सहयोग पुगेको छ ।

प्रकाशन शैलीमा नामयोगी नामिक पदसँग जोडिएको छ भने उच्च मा.वि.को सबैको नेपाली पुस्तकमा विभक्ति झैँ लाग्ने दुई लिपि चिह्नका नामयोगीहरूलाई पदयोग गरिएको छ भने अन्य नामयोगीहरूलाई पद वियोग गरिएको छ । यसै गरी प्रकाशन शैलीमा द्व बाहेकका द्द, द्ध, द्य, त्त, क्त, क्र जस्ता संयुक्त तथा नेपाली वर्ण व्यवस्थामा नभएका वर्ण स्वरूपहरूलाई क्रमश: द्द, द्ध, द्य, त्त, क्त, क्र जस्ता वर्णहरूले प्रतिस्थापन गरिएको छ भने उच्च मा.वि.को सबैको नेपाली पुस्तकमा संयुक्त वर्ण छुट्याइएको छैन । उच्च मा.वि.को सबैको नेपालीमा संयुक्त क्रियापद छुट्याइएको छ भने प्रकाशन शैलीमा केही क्रियापदबाहेक अधिकांश संयुक्त क्रियापद एउटै डिकोमा लेखिँदै आएको छ । उच्च मा.वि.को पाठ्यक्रम निर्माण हुने समयमा मध्यमार्गी ढाँचाको प्रकाशन शैली प्रकाशन नभइ सकेको कारण पनि यसो भएको हुनाले प्राध्यापकहरूले भने परिमार्जनसहित अध्यापन गराउँदै छन् ।

माथिका नियममा युनिकोड समस्या देखा पर्ने देखिएको हुँदा बुझ्न समस्या नआओस् भनी यहाँ ती नियमलाई तस्बिरबाट प्रस्तुत गरिएको  vasa

 यस्तै परिमार्जित नेपालीमा समासमा पनि पाँच वा सोभन्दा बढी लिपि चिह्न भएका समासलाई छुट्याइएको छ । मन्त्री मण्डललाई मन्त्रिण: मण्डल≠मन्त्रि मण्डल नलेखी मन्त्रीको मण्डल≠मन्त्री मण्डल जनाउने समासको नेपालीकृत रूप दिइएको छ । तत्सम शब्दका माथि उल्लिखित संयुक्त वर्ण छुट्याउने नवीन काम भएको छ भने तद्भव र आगन्तुक शब्दमा नेपालीकरण गरिएको छ । ऐतिहासिक वा सैद्धान्तिक दृष्टान्तका वाक्यांश वा पाठ्यांश र केही प्रायोगिक शब्दमा स्थान अनुसार पदयोग र वियोग यथावत् राखिएका छन् ।

१४ निष्कर्ष

भाषाको आधुनिकीकरण र मानकीकरण सँगसँगै हुने प्रक्रिया हुन् । आधुनिकीकरणले मानकीकरणमा सहयोग गर्दछ । भाषा मानकीकरणमा छनोट, कोडीकरण, विस्तार र स्वीकृति जस्ता चार चरणहरू हुन्छन् ।

आर्य शाखाको प्राचीन रूप संस्कृत भाषा हो । यसलाई प्राचीन आर्य भाषा भनिन्छ । यसको अनुमानित समय इ.पू. १५०० देखि इ.पू. ५०० सम्म मानिन्छ । वैदिक संस्कृत आर्य भाषाको प्राप्त सर्वाधिक पुरानो रूप हो । यसपछि लौकिक संस्कृतको विकास भयो । इ.पू. ५०० देखि इस्वीको १००० सम्मलाई मध्य कालीन आर्य भाषाको समय मानिन्छ । यस समयमा संस्कृत भाषाबाट पाली, प्राकृत, प्राकृत अपभ्रंश भाषाहरूको विकास भयो । यिनै भाषाहरूबाट इस्वीको १००० पछिको समयमा अन्य आर्य भाषासँगै नेपाली भाषाको विकास भएको हो । यस क्रममा संस्कृत, प्राकृत, अपभ्रंश, खस हुँदै नेपाली भाषाको विकास भएको मानिन्छ ।

नेपाली व्याकरणको विकासमा कसियानो बेलिगत्ति, कर्कप्याट्रिक, एटन, केलग, रुडल्फ होर्नले, टर्नबुल, विरेन्द्र केशरी अर्याल, राममाणि आ.दी., जयपृथ्वी बहादुर सिंह, विश्वमणि दीक्षिताचार्य, हेमराज, पारसमणि प्रधान, सोमनाथ सिग्द्याल, पुष्कर शमशेर, रामचन्द्र ढुङ्गाना, महानन्द सापकोटा, रामराज पन्त, बालकृष्ण पोखरेल, चूडामणि बन्धु, भोजराज ढुङ्गेल, दुर्गा प्रसाद दाहाल, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सरकार, त्रिभुवन विश्व विद्यालय, उच्च माध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम विकास केन्द्रको योगदान महत्त्वपूर्ण मानिन्छ ।

नेपाली भाषाको प्राचीन, मध्य हुँदै आधुनिक कालसम्म आइ पुग्दा नेपाली भाषा मौलिक एवम् समृद्धिको बाटोतर्फ अघि बढ्दै छ । नेपाली भाषा माऊ भाषा मिनिने संस्कृतबाट प्रभाविता छ तर आवश्यकता अनुसार सुधार जरुरी हुन्छ । अहिलेसम्म भारतबाट प्रशिक्षण लिई नेपाल प्रवेश गरेका संस्कृत र हिन्दी भाषाबाट प्रभावित भएका प्रशिक्षककै वर्चश्व रहेको छ । भारतीय संविधानमा समेत नेपाली भाषा सूचीकृत छ । जसले गर्दा नेपालीले स्वविवेकले राष्ट्रभाषा मानक बनाउन खोजे त्यसमा सिधै वा प्रायोजित ढङ्गमा हस्तक्षेप हुने खतरा बढी छ । एक किसिमका अङ्ग्रेजी स्कुलिङका विद्वत्त वर्गले पनि अङ्ग्रेजी आगन्तुक शब्दमा अङ्ग्रेजी शब्दको ठाडो हस्तक्षेप भएको रुचाउँछन् ।

हलन्त बहिष्कार मात्र होइन झर्रोवादी आन्दोलन तुहाउनसमेत भारतीय विद्वान्हरू लागेको कुरालाई इतिहासले पुष्टि गरि सकेको छ । भारत, अङ्ग्रेज र संस्कृत पुरातन वादी पण्डितहरू नेपाली भाषा मौलिक र मानक भएको हेर्न चाहँदैनन् । यस्तो सङ्गीन घडीमा भाषा मानकीकरणको अन्तिम चरणमा आइ सकेको नेपाली भाषालाई सबै खालका अतिवादबाट रक्षा गर्दै लोकतन्त्रको महानतम् प्राप्तिका रूपमा स्थापित गर्न, गराउन सबै राष्ट्रवादी सचेत जनता र विद्वत् वर्ग लाग्नु पर्ने देखिन्छ ।

सन्दर्भ सामग्री सूची

अधिकारी नारायण प्रसाद (२०६८) भाषा विज्ञान (दोस्रो संस्करण), काठमाडौँ: सुप्रवाह प्रकाशन ।

आचार्य, कृष्ण प्रसाद (२०६७) पूर्र्व आधुनिक नेपाली साहित्य, लोक साहित्य आधुनिक नेपाली निबन्ध (दोस्रो संस्करण), काठमाडौँ: क्षितिज प्रकाशन ।

––– (२०६८) भाषा विज्ञान नेपाली भाषा, काठमाडौँ: क्षितिज प्रकाशन ।

ओझा, रमनाथ  र मधुसुदन गिरी (२०६४) भाषा विज्ञान (पाँचौँ संस्करण), काठमाडौँ: सनलाइट पब्लिकेसन ।

खत्री, विष्णु कुमार र नेत्र बहादुर कुँवर (२०७२) अनिवार्य नेपाली दस जोड दुई प्रयोगात्मक अभ्यास पुस्तक (पहिलो संस्करण), काठमाडौँ: बृहस्पति पुस्तक प्रकाशन ।

गैरे, ईश्वरी प्रसाद (२०६४) भाषा विज्ञान नेपाली भाषा, काठमाडौँ: हजुरको प्रकाशन ।

गैरे, शङ्कर प्रसाद (२०६९) सामान्य भाषा विज्ञान (पहिलो संस्करण), काठमाडौँ: बृहस्पति पुस्तक प्रकाशन ।

गौतम, देवी प्रसाद  र प्रेम प्रसाद चौलागाईँ (२०७०) भाषा विज्ञान, काठमाडौँ: पाठ्य सामग्री पसल ।

ज्ञवाली, राम प्रसाद र अरू (२०७०) उच्च माध्यमिक नेपाली व्याकरण (दोस्रो संस्करण), काठमाडौँ: भुँडीपुराण प्रकाशन ।

ढुङ्गेल, भोजराज र दुर्गा प्रसाद दाहाल (२०७०) प्रायोगिक भाषा विज्ञान, काठमाडौँ: एमके पब्लिसर्स एन्ड डिस्ट्रिब्युटर्स ।

नेपाल, शैलेन्दु प्रकाश र अरू (२०७१) प्रयोगमूलक नेपाली १०+(एघारौँ संस्करण), काठमाडौँ: बृहस्पति पुस्तक प्रकाशन ।

पाठ्यक्रम विकास केन्द्र (२०७०) प्रकाशन शैली

पोखरेल, केशवराज र उमेश काफ्ले (२०७०/७१) प्रायोगिक भाषा विज्ञान, काठमाडौँ: क्याम्ब्रिज पब्लिकेसन ।

पोखरेल, मोहनमणि (२०७१) पाठ्यक्रम तथा मूल्याङ्कन, काठमाडौँ: आशिष बुक्स हाउस ।

पौडेल, माधव प्रसाद (२०६८) भाषा पाठ्यक्रम, पाठ्य सामग्री तथा शिक्षण पद्धति निबन्ध, काठमाडौँ: विद्यार्थी प्रकाशन ।

यादव, योगेन्द्र प्रसाद र भीम नारायण रेग्मी (२०५९) भाषा विज्ञान (दोस्रो संस्करण), काठमाडौँ: न्यु हिरा बुक्स इन्टरप्राइजेज ।

लम्साल, रामचन्द्र  र अरू (२०६७) नेपाली भाषा पाठ्यक्रम, भाषा पाठ्य पुस्तक तथा शिक्षण पद्धति (चौथो संस्करण), काठमाडौँ: भुँडीपुराण प्रकाशन ।

––– (२०७१) प्रायोगिक भाषा विज्ञान, काठमाडौँ: भुँडीपुराण प्रकाशन ।

लामिछाने र अरू  (२०६९) सामान्य भाषा विज्ञान, काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार ।

शर्मा, हेमाङ्गराज र बद्री विशाल भट्टराई (२०७०) प्रयोगात्मक नेपाली शब्दकोश (दो.सं.), काठमाडौँ : विद्यार्थी प्रकाशन ।

सुवेदी, केशव र अरू (२०६८) सबैको नेपाली (दोस्रो संस्करण), ललित पुर : साझा प्रकाशन ।

सुवेदी, राजेन्द्र र होम सुवेदी (२०५५) प्राथमिक माध्यमिक नेपाली साहित्यको रूपरेखा (पहिलो संस्करण), काठमाडौँ: पाठ्य सामग्री प्रकाशन ।

 

 

सोम, भदौ २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य कला-साहित्य समाचार

Like us On Facebook

Follow Us On Twitter