साहित्य एउटा चौतारी हो….जहाँ सुखदुःखको अध्यायलाई आनन्दले विसाउन सकिन्छ : सञ्चारकर्मी लामिछाने

काठमाडौंको दक्षिणी भेग छैमलेमा २०४६ अश्विन २३ मा जन्मिएका सञ्चारकर्मी दिपक लामिछानेले लेखेको उपन्यास हो ‘नोभेम्बर ९’ । सञ्चारकर्म, साहित्य सिर्जना, समाजसेवा लगायतका विभिन्न विधामा सक्रिय लामिछानेले देशका विभिन्न भागमा पुगेर मिडिया तालिम दिइसकेका छन् । क्लासिक एफएमका समाचारवाचक तथा कार्यक्रम प्रस्तोता, दीपश्री क्रिएटिभ मिडियाका निर्देशक, मिडिया तालिमका कुशल प्रशिक्षक आदि उनको परिचय हो । लामिछानेको पहिलो साहित्य कृतिका रुपमा केही महिना अघि बजारमा आएको उपन्यास ‘नोभेम्बर ९’ले बिस्तारै चर्चा बटुलिरहेको छ । यही उपन्यासका सर्जक लामिछानेसँग गरिएको कुराकानीमा आधारित अन्तरवार्ताको सम्पादित अंशः

‘नोभेम्बर ९’ कस्तो पुस्तक हो ?
विद्यालय जिवनमा द्वन्द्वकालको अवस्थादेखि काठमाडौंमा प्रवेश गर्दाका हरेक युवाको दर्दनाक मुद्धाहरुलाई जस्ताको तस्तै उतारिएको उपन्यास हो ।

पाठकले पढ्नै पर्ने त्यस्तो के छ ‘नोभेम्बर ९’ मा ?
यो उपन्यासमा जीवनका वास्तविक भोगाइहरु छन् । स्कूले जीवनदेखि जिम्वेवारी बहन गर्ने अवस्थासम्मका विभिन्न समयको अवस्थालाई यसमा समेटिएको छ । अहिले युवा कता जाँदैछ ? परिवारको जिम्वेवारी के हो ? संस्कार किन आवश्यक छ ? प्रेमको परिभाषालाई कसरी अथ्याइएको छ समाजमा ? यससँगै बेरोजगार युवाको दर्दनाक अवस्था र त्यसले निम्त्याएका असरहरु, श्रीमान्का लागि संघर्ष गर्न जुटेकी एक युवतिको कथा छ । समय सापेक्ष बीचबीचमा कविता, गजल, हाइकु र प्रेमपत्रले पाठकलाई कहिले रुवाउने त कहिले जिम्वेवारी बोध गराउनेमा दुईमत नहोला ।

शिर्षक ‘नोभेम्बर ९’ नै राख्नुको तात्पर्य ?
जिवनमा भोगेका र देखिएका ९ बेग्ला बेग्लै घटनाहरु यसमा समिश्रण गरिएको छ । त्यो पनि नोभेम्बर ९ भित्रै भएका घटनाहरु यसमा छन् । त्यसैले यसको न्वारन ‘नोभेम्बर ९’ हुन पुग्यो । विशेषगरी स्कूले चन्चलता, तत्कालिन द्वन्दकालको अवस्था, काठमाडौंको रनभुल्ल अवस्था, फरक ३ प्रेमको चरित्र, युवाको फ्रस्टेसन, अपच संसारबाट पलायन म पात्रको कथालाई यसमा समेटिएको छ ।

तपाईको आफ्नै जीवनको कथा समेट्नु भएको छ भन्ने सुन्निछ नी खासमा के हो ?
समाजमा घटिरहेकै घटनाहरुलाई यसमा समेटिएको छ । वास्तविक घटनाहरुलाई नै कथात्मक रुपमा प्रस्तुत गरिएको हो । मेरै कथा चाहीँ भन्न मिल्दैन ।

तपाईको यो उपन्यासमा राधा पात्रलाई बढि प्राथामिकता दिनुको कारण ….?
वास्तवमा प्रत्येक ९ घटनाले पाठकलाई आफ्नो जिवनमा एक न एक पटक आफुले नै भोगेको परिस्थितीको आभास दिन्छ र प्रत्येक पाठकले पढ्दा मेरै कहानी लेखेको जस्तो लाग्यो भन्ने प्रतिक्रिया पनि आएको छ । त्यसमा राधाको प्रश्न धेरैले उठाउनु भएको छ । यो उपन्यासमा प्रेमको चरित्र अलि विकृतीको अवस्थामा देखाउन खोजिएको छ । यसमा राधा जस्ता अरु पात्रहरु पनि यो समाजमा छन्, जो प्रेम प्राप्ती मात्रै हैन त्याग पनि हो भन्ने मानसिकता बोकेर बाचिरहेका छन् । त्यसैले राधाका बारेमा प्रतिक्रिया आउनु स्वभाविक कुरो हो ।

अरु विधालाई छोडेर पहिलो पटक नै उपन्यास लेख्नुको कारण ?
सानै उमेरदेखि साहित्यमा रुची थियो । विद्यालय स्तरमा पनि धेरै पटक कविता वाचनमा प्रथम भएको छु । विस्तारै विस्तारै कलेज जिवनमा प्रवेश गर्दा रेडियोमा साहित्यिक कार्यक्रम संचालन गर्न थालेँ । त्यसले झन् साहित्यमा रुची बढायो । दाई पुरुषोत्तम लामिछानेको विशेष हौसलाले आफुमा झन् उत्साह थपियो र आफुमा थोरै कविताको अनुभव रह्यो । गजलका सम्बन्धमा मित्र गीता गौतमको सल्लाहले गजल लेख्न सिकायो विस्तारै विस्तारै यि सबै साहित्यलाई एउटै मालामा उन्न मन लाग्यो त्यसैले आफुले देखेका, भोगेका, कलेज पढाउदा, रेडियो कार्यक्रम संचालन गर्दा, विभिन्न कार्यक्रम संचालन गर्दाका अवस्थालाई जोड्दै साहित्यका सबै विधालाई समेट्दै उपन्यास सृजना गरियो ।

‘न’ शीर्षकको कविता कसरी सृजना भयो ?
आजको समाज साहित्यमा धेरै रुचि लिएर अगाडी बढेको छ । साहित्यमा पनि धेरै विधाहरु छन्, कविता, हाइकु, गजल आदि । सबै पाठक उपन्यासमा नयाँ पन चाहान्छन् त्यसको लागि पनि मैले यो ‘न’ शीर्षकको कविता रचना गरेको हुँ । यो कविताले समग्र उपन्यास भित्रको प्रेम लिलाका क्षतविक्षेत अवस्थालाई छर्लङ्ग पोखिदिएको छ ।

यो उपन्यासमा नौलो प्रस्तुती भित्रीएको छ भन्छन् नी कारण ?
अहिलेसम्म लेखिएका धेरैजसो उपन्यासमा विषयवस्तु एउटै धारमा बगिरहन्छ तर यो उपन्यासमा घटना परिस्थिती अनुसार कविता, गजल, हाइकु, प्रेमपत्र सबैलाई जोडेर उपन्यास फरक बनाउन खोजेको छु । यसमा साहित्यकार तथा पत्रकार स्वागत नेपालले भूकिका लेख्दै भन्नु भएको छ की हालसम्म यो कोणबाट कुनै पनि उपन्यास लेखिएको छैन । त्यसैले यो उपन्यासलाई युवा उपन्यास भन्दा फरक नपर्ला । साहित्यकार भूवनहरी सिग्देलले समिक्षा गर्दै उपन्यास भित्रका हरेक घटनाका उत्कर्षपछि कविता, गजल, आदि अभिव्यक्तिले बेग्लै रोचकता थपेको भान हुन्छ, उपन्यास भित्र पनि कविता – यो दीपकजीको नौलो र आफ्नै प्रयोग हो भनेका छन् । साथै साहित्यकार चन्द्रकुमार हतुवालीले राष्ट्रिय दैनिक पत्रिका नेपाल समाचारपत्रको पुस्तक चर्चामा समिक्षा लेख्दै भनेका छन् कि दीपक लामिछानेको उपन्यास नोभेम्वर ९ मा नवीनतम् शैलीको प्रयोग भएको छ ।
अहिले के मा व्यस्त हुनुहुन्छ ?
उपन्यासलाई विभिन्न ठाउँका पाठकहरु माझ पु¥याउँनमा व्यस्त छु । समय समयमा पाठकहरुसँग अन्तरक्रिया पनि भइरहन्छ । साथै म दीपश्री क्रिएटिभ मिडियाको कार्यकारी निर्देशक छु । यो एउटा मिडिया सम्बन्धी तालिम र यससँग सम्बन्धित कार्यहरु गर्ने संस्था भएता पनि यस संस्थाबाट हाल भूकम्प पश्चात् युवाहरुको समूह बनाई स्वदेशमा नै केही गर्नु पर्छ भन्ने उद्देश्यका साथ विभिन्न सामाजिक कार्यमा सक्रिय बनाउन लागि परेको छु । जसमा डा. भोला रिजाल, उद्योगपति सुमित केडिया, पत्रकार स्वागत नेपाल, पत्रकार नवराज न्यौपाने, गायक हेमन्त शर्मा लगायतले विभिन्न कार्यक्रममा सहभागी भई साथ र सहयोग गर्दै आइरहनु भएको छ । साथै अब छिट्टै नै महिलाहरुमा लक्षित दीपश्रीको खुशी बाँडे खुशी बढ्छ भन्ने सामाजिक अभियान अगाडी बढाउने तयारीमा छु । आफ्नो उपन्यासको मार्केटिङ्गलाई अगाडी बढाई रहेको छु ।

आम जनमानसमा तपाइको परिचय ?
बढो गम्भिर प्रश्न गर्नु भयो । तर उत्तर सजिलै छ । पाठकका लागि उपन्यासकार, रेडियो सुन्ने श्रोताका लागि समाचार वाचक र कार्यक्रम प्रस्तोता, विद्यार्थीहरुका लागि शिक्षक ।

यति सानै उमेरमा धेरै क्षेत्रमा सक्रिय हुनुहुन्छ, यो कसरी सम्भव भयो ?
सानै उमेर भन्नाले २६ बर्ष पुगेको छु । मलाई लाग्छ मान्छेले हरेक विषयमा थोरै भएपनि जानकारी हाँसिल गर्नु पर्छ । मैले पनि त्यहि गरेको हुँ । समयको माग हो । वास्तविक जिवनमा परिस्थितीले जुन पात्र माग्यो त्यहि पात्रको भूमिका निर्वाह गरेको मात्र हुँ ।

 

साहित्यलाई कसरी परिभाषित गर्नु हुन्छ ?
साहित्य एउटा चौतारी हो । जहाँ उकाली ओरालीका बीचमा सुखदुःखको अध्यायलाई आनन्दले बिसाउन सकिन्छ । जसले अरुलाई पनि चौतारीमा विश्राम गर्न प्रेरित गर्छ ।

समाजप्रति साहित्यकारको जिम्वेवारी के हुन सक्ला ?
राम्रो प्रश्न गर्नु भयो । अवश्य पनि राणकालको अवस्था होस् या २००७ सालको क्रान्ति होस्, सबै भन्दा बढी समाजप्रति चिन्तित साहित्यकार नै भएको देखिन्छ । साहित्यकारले समाजको हरेक मुद्धाहरुलाई ऐनामा स्पष्ट देखाउने काम गर्छ, जसबाट समाज रुपान्तरणमा ठूलो योगदान पुगेको हुन्छ । आज हरेक अवस्थामा तपाई सोसल साइट हेर्नु भयो भने साहित्यबाट नै समाज, देश, व्यक्तिलाई खबरदारी गरिरहेको देख्नुहुन्छ । यसैले पनि साहित्यकारको समाजप्रति जिम्वेवारी जोडिएको हुन्छ, यसमा दुईमत छैन ।

अन्त्यमा ?
साहित्यकारको परिचय बन्ने भनेकै पाठकले गर्दा हो । पाठकले नै साहित्यकारलाई बाँच्न सिकाएका हुन्छन् । नयाँ साहित्य सिर्जनामा पाठकको भूमिका पनि महत्वपूर्ण हुन्छ । त्यसैले साहित्यकार भन्दा पनि साहित्यकारको कृतिलाई सहि मुल्याकंन गर्न अनुरोध गर्छु र साहित्यबाट नै साहित्यकार बाँच्न सक्ने अवस्था बनाइदिन पनि सुझाव दिन चाहान्छु । कुनै पनि कृति आफैमा एउटा उद्देश्य बोकेर जन्मिएको हुन्छ । त्यसैले यो पुस्तकलाई एक पटक किनेर पढ्नु होला र केही कमी कमजोरी भए अवश्य प्रतिक्रिया दिनु होला भन्दै सबैमा आभार प्रकट गर्दछु ।

धेरै उपन्यासहरु प्राय दुई तिन दिन लगाएर पढ्नु पर्ने अवस्था छ । वेस्त युगमा वेस्त मानिसहरुलाई एउटै पुस्तक धेरै दिनसम्म पढ्ने फुर्सत कम नै हुन्छ र आधा पठनमानै छोडेको धेरैको मुखबाट सुनेको छु । त्यसैले यो उपन्यास एक बसाई अर्थात ३ घण्टामानै पढि सक्ने खालको बनाएको छु । जसले एउटा फिल्म हेरेझै यो उपन्यास पढ्न सक्नेछन् ।

आइत, भदौ १९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...