नाकान्दीको बिरोधमा नेपालीद्धारा अष्ट्रेलियाको संसद अगाडि प्रदर्शन


अष्ट्रेलिया ,१७ मंसिर ।

अष्ट्रेलियामा रहेका नेपालीहरुले आज अष्ट्रेलियाको राजधानी क्यानबेरामा भेला भएर भारतीय नाकाबन्दीको विरोध गर्दै अष्ट्रेलियास्थित संसद भवनअघि प्रदर्शन गरेका छन् ।

प्रवासी नेपालीहरुको संगठन एनआरएन अष्ट्रेलियाको आयोजना र अन्य संघसंस्थाहरुको सहभागितामा उनीहरुले भारतले लगाएको नाकाबन्दी अमानवीय र गैरकानुनी भएको भन्दै अष्ट्रेलिया सरकार तथा राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका हुन् ।

विभिन्न नाराबाजी सहित संसद भवन, संयुक्त राष्ट्र संघ कार्यलय र भारतीय दूतावास अघि प्रदर्शन गरेका हुन् । नेपालीहरुले भुपरिवेष्ठित राज्यले पाउनुपर्ने अधिकार भारतले हनन गरेको भन्दै उक्त अधिकार सुनिश्चित गर्न आग्रह गरेका थिए ।

नेपालीहरुले गरेको विरोध कार्यक्रम प्रति अष्ट्रेलियाली केही सांसद र जनताहरुले उत्सुकताका साथ जिज्ञाशा राखेका थिए ।

नेपालीहरुले क्यानबेरामा रहेको संसद भवनका साथै संयुक्त राष्ट्र संघ कार्यलय, भारतीय दूतावासमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए भने अष्ट्रेलियास्थित नेपाली दूतावासमा समेत प्रदर्शन गरेका थिए । भारतीय दूतावासले भने उनीहरुको ज्ञापनपत्र बुझ्न मानेन ।

आन्दोलनमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबन र क्यानबेरा लगायतका स्थानबाट नेपालीहरुले सहभागिता जनाएका थिए ।

एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेलले अहिलेको मधेस आन्दोलन घरको समस्या भएकाले यथाशिघ्र वार्ता र सहमतीको माध्यमबाट समाधान खोज्न आग्रह गर्दै दूतावास मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएको बताए ।

करिव २ घण्टासम्म गरिएको विरोध कार्यक्रम पश्चात उनीहरुले संसद भवनमा अष्ट्रेलियाकी विदेशमन्त्री जुलि विशप, विपक्षी दलका नेता विल सर्टन, विपक्षी दलकी उपनेता तानिया पिबरसेक लगायतका नेताहरुहरुलाई विरोध कार्यक्रम र वर्तमान नेपालको अवस्थाको जानकारी गराउँदै ज्ञापनपत्र बुझाएका थिए ।
विदेशमन्त्री विशप संसदमा व्यस्त भएकाले विदेश मन्त्रालयका सल्लाहकार ह्यारी गिम्मिस मार्फत बुझाइएको थियो भने सांसद मिसेल रोलेण्ड मार्फत प्रतिपक्षी दलका नेत विल सर्टनलाई ज्ञापनपत्र बुझाइएको थियो ।

ज्ञापनपत्र बुझेपछि उनीहरुले नेपालको समस्या अष्ट्रेलियाली संसदमा उठाइने प्रतिवद्धता जनाएको बताईएको छ ।

बिहि, मंसिर १७, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया