भक्तपुर–नगरकोट सोह्र किलोमिटर सडक निर्माण अलपत्र


भक्तपुर, १६ मङ्सिर ।

भक्तपुरबाट नगरकोट जाने पर्यटकीय सडक विस्तार कार्य अलपत्र परेको छ । साँघुरो सडकमा धेरै सवारी साधनको ओहोरदोहोर हुने भएपछि भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको मूल सडक फराकिलो बनाएर बिस्तार गर्ने काम गत वैशाखदेखि सुरु भएको थियो ।

सडक विभागअन्तर्गत सडक सुधार आयोजनाले कूल रु २८ करोडको लागतमा विस्तार गर्न सुरु गरेको सडक भारतीय नाकाबन्दीले सिर्जित इन्धन अभावको कारण देखाउँदै अलपत्र रुपमा निर्माण कार्य रोकिएपछि सो सडकका यात्रु उच्च जोखिममा परेका छन् ।

साँघुरो सडकका दर्जनौँ ठाउँमा ठूल्ठूला खाडल तथा ढुङ्गाको पर्खाल लगाएर पर्खाल र सडकका बिचमा करिब २० फिट गहिरो ३० देखि ५० फिट लम्बाई खाडल बनाएर खाडलसमेत नपुरी बिचबिच मै छाडेपछि नगरकोट–भक्तपुर ओहोरदोहोर गर्ने यात्रु उच्च जोखिममा परेका छन् ।

नगरकोट नगरपालिका फेदीस्थित क्वालिटी इङ्लिस स्कुलका प्रधानाध्यापक तथा नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष जिवि खड्काले साँघुरो सडकको दाँयाबाँया आयोजनाले ठूला खाडल बनाएर खाडलसमेत नपुर्दा यातायातका साधन र यात्रु उच्च जोखिममा रहेको बताउनुभयो ।

नगरकोट नगरपालिका खरिपाटीका स्थायी बासिन्दा मनोज गिरीले आयोजनाले सडक निर्माण अलपत्र छाडिदिँदा यातायातका साधन खाडलमा पर्ने सम्भावना बढेको भन्दै खाडल पुर्न आयोजनाले बेवास्ता गरेको बताउनुभयो ।

स्थानीय बासिन्दाले सडकका खाडल पुर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पटकपटक ‘डेलिगेसन’समेत गएको नगरकोटका स्थानीय धनबहादुर लामाले बताउनुभयो । खाडलमा यातायातका साधन खसेर दुर्घटना भएमा त्यसको जिम्मेवारी आयोजनाले लिनुपर्ने उहाँको भनाइ छ ।

यसबारेमा प्रमुख जिल्ला अधिकारी तोयम रायाले कमलविनायक–नगरकोट सडकको दुर्दशा आफूले देखेको बताउँदै आयोजना प्रमुखलाई कार्यालय मै बोलाएर खाडल पुर्न निर्देशन दिएको बताउँदा पनि अझै नपुरिएको बताउनुभयो । स्थानीयको मागलाई ध्यानमा राख्दै दुई दिनभित्रै आयोजना प्रमुखलाई बोलाएर खाडल पुर्न निर्देशन दिने प्रजिअ रायाले बताउनुभयो ।

सडक विस्तारको ठेक्का पाएका दुईवटा कम्पनीले यतिखेर सडकलाई अलपत्र पारेका छन् । नगरकोटमा आन्तरिक तथा बाह्य पर्यटकको चापसँगै यातायातका साधनको चाप पनि बढेपछि हाल चार मिटर फराकिलो रहेको १६ किलोमिटर लामो यो सडकलाई सात मिटर कालोपत्रे बनाउने र नालीसमेत निर्माण गर्नेगरी सडक विस्तार सुरु भएको थियो ।

नगरकोट जाने सडक साँघुरो हुँदै गएको, सडक मिचेर घर टहरा, पसल निर्माण विस्तार हँुदै गएर अव्यवस्थित भएपछि आयोजनाले मापदण्ड विपरितको घरटहरा भत्काउँदै सडक विस्तार गर्न सुरु गरेको थियो ।

‘एक्जिम बैंक इन्डिया’को सहयोगमा विस्तार भएको सडकको निर्माण आव २०७२÷७३ भित्र सम्पन्न गरिसक्ने लक्ष्य राखेपनि इन्धन अभावले ढिलाइ हुने भएको आयोजनाले जनाएको छ ।

सडक विस्तारको जिम्मा लिएका आरामाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिले चैतको अन्तिम सातादेखि सुरु गरेको सडकविस्तार कार्यमा अहिले खाडल नै छाडेपछि अलपत्र परेको हो ।

बुध, मंसिर १६, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter