ब्राम्हणवादी शासक जातीय संघीय संरचनाबारे


१– पृष्ठभूमी
मगर समुदाय नेपाली समाज र सत्ताको लागि नयाँ नाम होईन । नेपाली समाजको बनोट र विशेषताको आधारमा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी समाजशास्त्रीय दृष्टिकोणबाट बुझ्दा नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुधार्मीक र बहुसाँस्कृतिक प्रकृतिको बहुराष्ट्रिय मुलुक नै हो । तर राज्यसत्ता संचालकहरुको शासक जातीय अहंकारले ओतप्रोत ब्राम्हणवादी विचारको दृष्टिदोषका कारण नेपालमा विद्यमान सामाजिक अन्तरविरोध गहिरिदै र चर्किंदैगएको छ । नेपाली समाजमा मुख्यतः तीन प्रकारका मानव महावंशहरु मात्र रहेको देखिन्छ । जस्तै ः मंगोलीयन महावंश, ककेशीयन महावंश (आर्यन महावंश) र अष्ट्रो–ड्रविडीयन महावंश । यी तीन मध्ये नेपालमा करिब ५०० वर्ष देखि केन्द्रिय सत्तामा एकल पकड र प्रभाव जमाएको मानव महावंश ककेशीयन (आर्यन) नै हो । ती आर्यन महावंशका शाखाहरुमा बाहुन, क्षेत्री, दलित र मधेशी समुदाय पर्दछन् । यसै भित्र पनि दलित अछुत बनाईए भने मधेशी अनेपाली ! बाहुन–क्षेत्री सभ्य र शासक स्वघोषित !?
बहुजातीय समाजमा एक जातीय शासन सत्ता चल्नु राजनीतिक मात्र हैन प्राकृतिक न्यायको सिद्धान्त विपरित पर्दछ । नेपालका शाषित मानव महावंश मङ्गोलियन र अष्ट्रो–ड्रविड नै हुन् । यी समुदाय उत्पादन र आन्दोलन जस्ता दुःख र श्रमिक जीवनमा बढी प्रयोग भईरहेका देखिन्छन् भने शासन सत्ताको सुःख र वौद्धिक जीवनमा नगन्य देखिन्छन् । मगर लगायत नेपालका सम्पूर्ण आदिवासी जनजातिहरु यिनै शासन सत्ता भन्दा बाहिरको दुःखी र श्रमिक दुई मानव महावंशका शाखा समुदाय नै हुन । त्यस मध्ये पनि मगर जाति नेपालकै सरकारी तथ्याङ्क अनुसार पनि करिब ८ प्रतिशत छ, जसको जनसंख्या २२,००,००० भन्दा बढी हुनजान्छ । यहाँ बुझनै पर्ने रहस्य के देखिन्छ भने जसको बसोबासको प्रथम सघनता १० जिल्ला भन्दा बढी छ, दोश्रो सघनता ८ जिल्ला भन्दा बढी छ, तेश्रो सघनता १५ जिल्ला भन्दा बढी छ त्यसको जनसंख्या तेश्रो तर जसको प्रथम सघनता ९ जिल्ला पनि छैन, दोश्रो ६ जिल्ला पनि छैन र तेश्रो १२ जिल्ला पनि छैन त्यसको जनसंख्या दोश्रो कसरी भयो ? गण्डकी आसपास भन्दा बाहिर झापा र रुपन्देही मात्र हुन केही बढी भनेकोु जबकी बाहुनको जनसंख्या अहिले तथ्याङ्कमा ३३,००,००० भन्दा बढी देखाईएको छ यतिधेरै १० लाखको अन्तर हुनै सक्दैन । क्षेत्रीहरुको जनसंख्या सुदुर र मध्य पश्चिममा बाहेक अन्य विकासक्षेत्रमा खासै त्यति बढी नै देखिदैन । जबकी अहिलेको जनसंख्यामा ४४,००,००० भन्दा बढी देखाईएको छ । यो सरकारी तथ्याङ्क कम्प्युटरको फर्मुला बाहेक स्थलगत बसोबासको सघनताको आधारमा खासै मिल्दैन । थापा, घर्ती, रोका, बुढाथोकी, खडका र भण्डारीलगायतका मगरहरुको जनसंख्या क्षेत्रीमा जोडिदिने र बराल, लामिछाने र पाण्डे लगायतका मगरको जनसंख्यालाई बाहुनमा जोडिदिने सरकारी कर्मचारीको कमजोरी या बदनियत प्रष्टै देखिन्छ । खास बसोबासको सघनताको सत्यतथ्य तथ्याङ्कमा आधारित जनसंख्यामा क्षेत्री प्रथम, मगर दोश्रो र बाहुन तेश्रो नै हुन्छ ।
खासगरी समाजविकासको नियमानुसार शहरीकरणको विशेषता र दुर्गमबाट सुगमतिर लाग्ने बसाईसराईको अनुपात मगर र बाहुनको करिब बराबरी नै देखिन्छ । शहरीकरणमा बाहुन अगाडि होलान् तर सुगमता प्रतिको आकर्षण मगरकै बढी देखिन्छ । तुलनात्मक अध्ययन गरौं ! जस्तो शिक्षा र व्यापारमा बाहुन अगाडि भए तर विदेश जाने र सुकुम्बासीमा त मगर नै अगाडि छन् त ! गाउमा जनसंख्या घटने प्रक्रिया दुबैको बराबरै छन् त ! बाहुनहरु शिक्षित भएर अमेरिकी र युरोपीयन संसारमा भरिदैछन भने मगरहरु अशिक्षित भएर अरब एवं गल्फ संसारमा भरिएकै छन् त ! गाउँ खाली त दुबै समुदायबाट भईरहेकै छ मात्र प्रकृति फरक हो । .बाहुनहरु जागिरे भएर सदरमुकाम भरिदा मगर पनि मजदुर भएर भरिएकै छन् त । अनि भयो कसरी मगरको जनसंख्या तीब्र माईनस् बाहुनको जनसंख्या तीब्र पलस ? यो समाजविकास सम्बन्धि समाजशास्त्रीय दृष्टिकोणबाट गलत छ तर समाजविकासको बाधक धर्मशास्त्रीय दृष्टिकोणबाट भने धर्म र जातिको विरोधको पर्दामा धर्म र जातिकै शासन गर्ने शासक वर्ग र जातिको हकमा भने सहि होला, जुन घातक छ ।
२– संघीय संरचनामा मगर समुदायको असहमति
–नेपाली समाजको बनोट र विशेषता, अन्तरविरोध र अन्तरसम्बन्धको चरित्र विपरित मात्र खस जाति (बाहुन–क्षेत्री)को हितलाई आधार बनाएर गरिएको संघीय संरचना मगर समुदायलाई मान्य छैन ।
–बहुजातीय, बहुभाषिक, बहुधार्मीक, बहुसाँस्कृतिक बनोट र विशेषता सहितको नेपालको संविधानसभा प्रथमको मान्यता संघीय संरचना पहिचानका ५ आधार (जाति, भाषा, संस्कृति, भूगोल र ईतिहास) सामथ्र्यका ४ आधार (समृद्धि, स्रोत, अनुकुलता र सुगमता) लाई नै खारेज गरी शासक जातीय र दलीय राजनीतिक विचार र प्रभावको साथै सत्ता र शक्तिको बलमा गरिएको केन्द्रिकृत र भौगोलिक संघीयता मगर समुदायलाई मान्य छैन ।
–मगर समुदायको पुर्खाको रगत–पसिना पोखिएको र हाड घोटिएको ऐतिहासिक थातथलो मगरातभूमीलाई तीन टुक्रा पारी मगर जातिकै भावना र चाहना विपरित मगर समुदाय माथी ऐतिहासिक अन्याय गरेको संघीय संरचना मगर जातिलाई मान्य छैन ।
–भेरी नदीदेखि पूर्व– त्रिशुली नदीदेखि पश्चिम, पूर्व पश्चिम राजमार्गदेखि उत्तर– गोरखा, तनहुँ, स्याङजा, पर्वत र मुस्ताङका सदरमकामदेखि दक्षिण र डोल्पाको तिब्बत–सिमादेखि दक्षिणका सम्पूर्ण उच्चपहाडि र चुरे पहाडि श्रृंखलाका गण्डकी, धवलागिरी र राप्तीका सम्पूर्ण वस्ती र उर्वरभूमी रहेको करिब २५,००० वर्ग किमी. क्षेत्रफललाई एउटै मगरातभूमीमा नसमेटिएको खस्य संघीय संरचना मगर जातिलाई मान्य छैन ।
–सातवटै प्रान्त मध्य सबैभन्दा बढी बाहुन समुदायको सघनवस्ती रहेको गण्डकी क्षेत्रलाई एउटै प्रान्त बनाउने र फेरी ५०० वर्ष मगर समुदाय माथी शासन गर्ने नाङ्गो बाहुनवादी राजनीतिक षडयन्त्र र मगर समुदायको अस्तित्व र अधिकार माथी भएको डकैटी आक्रमण र खुलमखुल्ला चुनौतिलाई किमार्थ सहन सकिन्न ।
–जातीय जनसंख्याको आधारमा केन्द्रिय र प्रान्तीय सत्तासंरचनामा आदिवासी जाति मगर समुदायको उचित पहुँच र प्रतिनिधित्व हुनै नदिने यदि दिईहाले उनैको दास र कारिन्दा बनाउने कबुलमा बनेको सिमित मगर प्रतिनिधित्व र मगरात पहिचान विरोधी खसवादी संविधान र संघीय संरचना मगर समुदायको लागि आत्मघाती भएकोले गम्भीर असहमति छ । यसको बदला मगर जातिले राष्ट्रिय मुक्तियुद्धबाटै लिनेछन् ।
–मगर जातिको गौरवपूर्ण विरता र बलिदानको ईतिहासलाई नामेत पार्ने कुनियत, मगर जातिको ईमान र स्वाभिमानको मुल्य मान्यता ध्वस्त पार्ने षडयन्त्र र मगर जातिको अस्तित्व र अधिकारलाई राज्यसत्तामा संवैधानिक सुनिश्चितता हुनै नदिने राजनीतिक बेईमानको शासकीय अहंकारवादी कपतको सबुत नै मगरातभूमी तीन टुक्रा पार्नु हो । यिनैका पुर्खा पृथ्वीनारायण शाहले “मगरातको राजा मै हँु” भनेर प्रष्टभाषामा भनेका छन् । यसको ऐतिहासिक महत्व छ, किनकी राजा पृथ्वीनाराण शाह गोरखाको राजा हुनुपुर्व गोरखा राज्यको आधार नै मगरात थियो । मगरात कविलायी गणराज्य भनेर ईतिहासकार र समाजशास्त्रीहरुले भनेका छन् । मगरात कविलायी गणराज्यको बल र छलकै रणनीतिको आधारमा गरिएको विघटन र विलयकै कारण गोरखा राज्य बनेको हो । आर्यन महावंशका खस जातिका खस्य राजाहरुले मङ्गोलियन महावंशका मगर कविलायी राजाहरुसंग छल र बलको आधारमा मगरात शासनसत्ता कब्जा गरे ।
–पृथ्बी नारायण शाहको विशाल नेपाल निर्माण अभियान, भिमसेन थापाको अंग्रेज विरोधी राष्ट्रवादी अभियान र १० वर्षे महान जनयुद्धको युगान्तकारी राजनीतिक–फौजी अभियानको अग्रपंक्तिमा सम्म मगर जातिले वीरता र बलिदानकै उच्च किर्तिमान कायम गरे । तर विडम्बना ! मगर जातिको अविष्मरणीय गुण र राष्ट्रिय किर्तिमान विपरित आज २१औं शताब्दीमा आएर मगर जातिकै आदिभूमी ऐतिहासिक थातथलो मगरातभूमीबाट दखल गर्ने आशय अगाडि बढाईएको देखिन्छ । यसर्थ मगर जातिको अस्तित्व र अधिकारको पहिचान मगरात विरोधी संघीय संरचना मगर समुदायलाई स्वीकार्य छैन ।
–गण्डकीका रामचन्द्र पौडेल, लुम्बिनीका विष्णु पौडेल र राप्तीका कृष्णबहादुर महरा जस्ता प्रभावशाली राष्ट्रिय नेताको आजीवन मुख्यमन्त्री र प्रधानमन्त्रीको ईन्टे«शमा मगरातभूमी तीनटुक्रा पारियो । यता वर्षमान पुन मगर, सुरेश आले मगर, दल बहादुर राना मगर र सन्तोष बुढा मगरहरुको राजकीय भविष्य के हुने ? राज्यले यसको जवाफ दिन जरुरी छ । यसर्थ मगर जाति र मगरात विरोधी संघीय संरचना स्वीकार्य छैन ।
–नेपाली समाजलाई संघीयतामा लैजानुको खासकारण सामाजिक विविधता र भौगोलिक विषमतालाई व्यवस्थित गरी भावनात्मक एकता र र क्षेत्रगत सुगमता सहितको आन्तरिक राष्ट्रियता मजबुत बनाई बाह्य राष्ट्रियता सुदृढ बनाउन नै हो । विडम्बना त के भयो भने आन्तरिक राष्ट्रियता नै ध्वस्त बनाएर बाहिय राष्ट्रियताको बखान गर्ने पतमुर्ख शासकको चरित्र प्रदर्शन गरियो । जबकी आन्तरिक राष्ट्रियता मजबुत नभई बाह्य राष्ट्रियता कहिल्यै र कहि पनि सुदृढ हुँदैन र भएको पनि छैन । अन्तको कुरै नगरौ हाम्रै छिमेकी मालिक कहलिएको भारतकै हविगत हेरौं । काश्मिर, तमिलनायडु, नागल्याण्ड र आसाम विवाद र विद्रोह आजसम्म बल्झिरहेको छ । जम्मुकाश्मिर विवाद भारतकै क्यान्सर भन्ने खत्तरा बढदैछ । ती काश्मिरकै कारण पाकिस्तानसंगको सम्बन्ध आजीवन खराब भयो । ठूलो देशको अहंकार भारतलाई भए जस्तै हिन्दु एकाधिकार र खस शासक जातीय दम्भ नेपालसंग छ । अहंकार र दम्भ जीवनकै बाधक हुन्, कुनै पनि राष्ट्र र व्यक्तिले गर्नैहुदैन । हिटलरको आर्य अंहकारवादले विश्वयुद्ध नै निम्त्यायो । यसर्थ २१औं शताब्दीमा कुनै पनि दम्भ र अहंकारवादको तुकैछैन । दमनबाट सत्ता टिकाउने जमाना १७औं शताब्दीको हो ।
सन्दर्भ नेपाली समाजका भाग्यवादी पुरेतहरुको देश नेपालको हो, जहाँ २१ औं शताब्दीको विकसित र वैज्ञानिक युगमा पनि गाईको मुतले ज्यान र मन चोखाउने र मान्छेले मान्छेलाई नै छुन नहुने जस्ता १७ औं शताब्दीका बर्बर र सामन्ती सोंच र संस्कार, विचार र दृष्टिकोणबाट सत्ता चलाईन्छ । यसर्थ हामी स्वाभिमानी र २१औं शताब्दीका सचेत जनताले दुःखका साथ सगर्व ! भन्न बाध्य छौं कि हाम्रा महामहिम शासक ज्युहरुको पुरेतवादी शासकीय सोंच र सामाजिक दृष्टिकोण र समाजको खस अहंकारवादी भाग्यवादी संस्कार र चलन हामी स्वाभिमानी आदिवासी समुदायको लागि अभिशाप नै भयो यो पुरेतवादी शासन र भाग्यवादी चलन !? जसले गर्दा हामीलाई जुगजुगसम्म रैती र कारिन्दा बनायो, नागरिक र जनताको हैसियतै दिन चाहेन जुन विकसित युगकै अभिशाप हो । नेपालको संविधान २०७२ लाई धन्यवाद, पुरेतवादी भाग्यवादलाई बधाई छ !? जाँदाजाँदै– भाग्यवाद नेपाली समाजको विकासको वाधक हो भने बाहुनवाद नेपाली राजनीतिको बाधक हो । –प्रसिद्ध समाजशास्त्री डोर बहादुर विष्ट, फ्याटलीजम एण्ड डिभेलपमेन्ट पुस्तकबाट ।
                                                                                    e–mail M [email protected]                   

मङ्ल, मंसिर १५, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया