माथिल्लो तामाकोसीको अवरुद्ध निर्माण कार्य सुरु हुँदै, सम्पन्न अवधि एक वर्ष धकेलियो


काठमाडौँ, १५ मङ्सिर ।

भूकम्पका कारण निर्माण कार्य अवरुद्ध भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सुरु हुने भएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्माणाधिन जलविद्युत् आयोजनालाई इन्धन उपलब्ध गराउने निर्णय गरेपछि सो आयोजना सुरु हुन लागेको हो । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।

भूकम्पपछि आयोजनाको काम पूर्णरुपमा प्रभावित भएपछि आयोजना सम्पन्न हुने अवधि एक वर्ष पर धकेलिएको छ । सरकारले सो आयोजना सन् २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखेको थियो । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण अब आयोजना सन् २०१७ को डिसेम्बरमा मात्रै सम्पन्न हुने भएको छ ।

उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीको आग्रहमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्माणाधिन आयोजनालाई इन्धन उपलब्ध गराउन नेपाल आयल निगमलाई निर्देशन दिएको थियो । निगमले आज मात्रै उक्त आयोजनालाई छ हजार लिटर इन्धन उपलब्ध गराउने भएको छ । ‘‘हामीले इन्धन प्राप्त सूचना पाएका छौँ, आज छ हजार लिटर इन्धन पाउने भन्ने सूचना आएको छ । उक्त परिणामको इन्धन प्राप्त भयो भने तत्काल निर्माण सुरु हुन सक्छ,’’ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले रासससँग भन्नुभयो “इन्धन प्राप्त भए निर्माण सुरु हुन्छ ।”

इन्धन प्राप्त भएलगत्तै पहिलो चरणमा भूकम्पले ध्वस्त पारेको पहूँचमार्ग सुधार गर्ने आयोजनाले लक्ष्य राखेको छ । दोलखाको सिङ्गटीदेखि आयोजनास्थल लामाबगर र बाँधस्थल गोगरसम्म सडक सुधार गर्ने र भौतिक निर्माणको काम सुरु गरिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन जलविद्युत् आयोजनालाई एक वर्षभित्र पूरा गर्न सबै प्रकारको सहयोग उपलब्ध गराइने यसअघि नै सार्वजनिक गरिसक्नु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले केही दिन पहिले सार्वजनिक गर्नुभएको श्वेतपत्रमा समेत सो विषय समावेश गर्नुभएको छ ।

ऊर्जा मन्त्री रायमाझीका प्रमुख स्वकीय सचिव विधान रायमाझीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई इन्धन दिने निर्णय भएको जानकारी दिनुभयो । भूकम्पपछि आयोजना स्थल छाडेका मजदुर काममा फर्किए आयोजनाकाअनुसार भौतिक निर्माणमा सङ्लग्न रहेका नेपाली, चिनियाँ र भारतीय प्रािवधिक तथा मजदुर निर्माण क्षेत्रमा फर्किइसकेका छन् । इन्धन अभावका कारण आयोजना रोकिएपनि निर्माण स्थलमा मजदुर फर्किएपछि आयोजनालाई निर्माण सुरु गर्ने दबाव परेको थियो ।

सोही दबाव पछि आयोजनाले ऊर्जा मन्त्रालयमार्फत इन्धन उपलब्ध गराइदिन आग्रह गरेको थियो । आयोजनाका प्रवक्ता न्यौपानेले चिनियाँ प्राविधिक समूहले प्राविधिक काम सुरु गरिसकेको र अरु काम पनि सुरु हुने बताउनुभयो । विद्युत् गृहदेखि बाँधस्थलसम्म पुग्ने सडकलाई मर्मत सम्भार गरिनेछ ।

वनले स्वीकृति नदिँदा प्रसारण लाइन निर्माणमा समस्या

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् प्रसारण गरिने प्रसारण लाइन निर्माणमा वन तथा भूसंरक्षण मन्त्रालयले स्वीकृति नदिँदा समस्या पैदा भएको छ । कुल १२७ वटा टावर निर्माण गर्नुपर्नेमा ४८ वटा टावरको प्रारम्भिक काम सुरु भइसकेको छ । केही टावरको निर्माण कार्य सम्पन्न भएपनि केहीको भने काम नै सुरु हुन नसकेको प्रवक्ता न्यौपानेले बताउनुभयो ।

तामाकोसी– सिङ्गटी प्रसारण लाइन निर्माणको चरणमा रहेको छ । वन तथा भूसंरक्षण मन्त्रालयले आवश्यक निर्णय नगरिदिँदा आपूmलाई काम गर्न समस्या भएको आयोजनाले बताएपनि वन मन्त्रालयले भने सो विषयमा केही दिनभित्रै आवश्यक निर्णय गरिने जनाएको छ ।

भूकम्पले पारेको प्रभावको अध्ययन हुँदै

भूकम्पका कारण आयोजनामा परेको प्रभावका विषयमा प्राविधिक अध्ययन भइरहेको आयोजनाले बताएको छ । भूकम्पले करिब १७ सेन्टिमिटर इन्टेक भाँसिएको छ । भाँसिएको इन्टेकलाई कसरी मर्मत गर्ने भन्नेमा आवश्यक निर्णय लिइने प्रवक्ता न्यौपानेको भनाइ छ । भाँसिएको इन्टेकलाई सिमेन्टको घोल जमिनमुनी पठाएर मर्मत गर्ने आयोजनाको तयारी छ ।

मङ्ल, मंसिर १५, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया