विवादका कारण नगरपालिकाको भवन बन्न सकेन


उदयपुर, २७ चैत ।

नयाँ नगरपालिका स्थापना भएको दुई वर्ष बितिसक्दा पनि दुई पक्षीय विवादका कारण उदयपुर जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित बसाहा बेल्टार नगरपालिकाको नयाँ भवन निर्माण कार्य सुरु हुन सकेको छैन ।

गत वर्ष नै नेपाल सरकारको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बसाहा बेल्टार नगरपालिकामा नयाँ भवन निर्माण गर्न रु एक करोड बजेटसमेत विनियोजन गरिसकेको छ । तर अहिलेसम्म दुई पक्षीय विवादका कारण नयाँ भवन निर्माण कार्य सुरु हुन नसकेपछि अब नयाँ नगरपालिकाको भवन निर्माण गर्ने बजेटसमेत ‘फ्रिज’ हुने अवस्थामा पुगेको कुरा बसाहा बेल्टार नगरपालिकाले बताएको छ ।

दुई वर्षअघि नै बसाहा गाविस र बेल्टार गाविसलाई संयुक्त रुपमा गाभेर नयाँ बसाहा बेल्टार नगरपालिका स्थापना भएको कुरा बसाहा बेल्टार नगरपालिकाले बताएको छ ।

बेल्टारवासीले नगरपालिकाको कार्यालय बेल्टार बजारमा स्थापना हुनुपर्ने अडान लिँदै आएका छन् भने बसाहावासीले बसाहा र बेल्टारबीचमा पर्ने स्थानमा नयाँ भवन स्थापना हुनुपर्ने माग गरेको बसाहा बेल्टार नगरपालिकाका कार्यकारी अधिकृत योगराज कार्की बताउनुहुन्छ ।

दुई वर्षदेखि बसाहा र बेल्टारवासी राजनीतिक दलका नेताबीचको विवाद बढ्दै गएका कारण अहिलेसम्म पनि नयाँ भवन निर्माण हुन नसकेको कुरा नगरका कार्यकारी अधिकृत कार्कीले बताउनुभयो ।

आफूले पटक–पटक बसाहाका राजनीतिक दलका नेता र बेल्टारका राजनीतिक दलका नेतालाई राखेर समन्वय गर्ने प्रयास गरे पनि असफल भएका कारण नयाँ भवन निर्माण हुने कार्य नै ओझेलमा परेको नगर अधिकृत कार्कीको भनाइ छ ।

बसाहाका स्थानीय समाजसेवी तथा जिल्ला विकास समितिका पूर्व उपसभापति पदमबहादुर राई भन्नुहुन्छ, “नगरपालिका दुवै गाविस गाभेर स्थापना भएकाले यसको कार्यालय पनि दुवै क्षेत्रकाबीचमा पर्ने स्थानमा दुवै क्षेत्रका जनतालाई सहज हुने गरी स्थापना हुन पर्दछ ।”

अहिले अस्पताल, इलाका प्रहरी कार्यालयसमेत बेल्टार बजारमा नै रहेकाले नगरपालिका पनि बेल्टार क्षेत्रलाई नै कन्द्रिकृत गर्नु हुँदैन, विकेन्द्रीकरणको सिद्धान्तअनुसार नगरपालिका बसाहा र बेल्टारबीचको क्षेत्रमा स्थापना हुनुपर्ने बसाहावासी नेकपा (एमाले) का जिल्ला नेता कालु लामा बताउनुहुन्छ ।

यता बेल्टारवासी जनता तथा राजनीतिक दल भने नयाँ नगरपालिका भवन बेल्टार बजारमा नै स्थापना हुनुपर्ने कुरामा जोड दिएका छन् ।

नेपाली काँग्रेसका नेता भोजराज खतिवडा भन्नुहुन्छ, “विगतको सम्झौताअनुसार पनि पहिला नगरपालिका बेल्टारमा नै राख्ने भन्ने कुरा सहमति भएको र इलाका प्रहरी कार्यालय, अस्पताललगायत सबै कार्यालय बेल्टारमा नै स्थापना भएको र सुरक्षाको दृष्टिकोणले पनि बेल्टारमा नै नगरपालिका स्थापना हुन उपयुक्त हुने देखिन्छ ।”

प्रशासन तथा स्थानीय विकास अधिकारी र सबै राजनीतिक दलसहितको सर्वदलीय तथा सर्वपक्षीय भेलाबाट समेत समस्याको समाधान हुन नसके अब नगरपालिकाको नयाँ भवन निर्माण गर्ने रु एक करोड बजेटसमेत फ्रिज हुने र भवन निर्माण कार्यमा अझै ढिलाइ हुने अधिकृत कार्की बताउनुहुन्छ ।

शुक्र, चैत्र २७, २०७१ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विजनेस समाचार