पेटभरी दूध, न बच्चालाई न बाच्छालाई


चिकित्सकहरु dudhभन्छन्बच्चालाई ६ महिनासम्म आमाको दूध मात्रै भए पुग्छ, अरु खुवाउनु पर्दैन । तर ६ महिना त के, ६ दिनसम्म पर्खन पनि धेरै आमालाई गाह्रो लाग्छ । बच्चालाई आङ्खनो दूधभन्दा गाईभैंसी र ल्याक्टोजिन लगायतका फर्मुला मिल्क र अन्य कुराहरु खुवाउने प्रचलन नेपालमा धेरै छ । एक तथ्याङक अनुसार नेपालमा बच्चा जन्मिएको एक घण्टा भित्र विगौती दुध खान पाउने शिशुहरु जम्मा ४५ प्रतिशत मात्र रहेको छ । औषत दुध खुवाउने आमाहरुको संख्या धेरै भए पनि बच्चालाई अतिमहत्वपूर्ण मानिने बिगौती दुध एक घण्टा भित्र खुवाउनेमा किन समस्या भएको होला त ? विगौती दुध खुवाउन नहुने रुढीवादी धारणा , शारीरीक समस्या र अन्य विभिन्न कारणले पनि महिलाहरुले बच्चा जन्मिनासाथ दुध नखुवाउने गरेको स्वास्थ्य विभाग अन्तर्गत वाल स्वास्थ्य महाशाखाका निर्देशक डा शेनेन्द्रराज उप्रेती बताउछन् । अक्सर गाउँघरतिर बच्चा जन्मने बित्तिकै आमाको बिगौती दूध खुवाउनु हुँदैन भन्ने धारणा छ । शहरी क्षेत्रका महिलाहरुको त झन दुध बच्चाले खाएमा स्तन झोलिने र सुन्दरतामा कमी आउने भन्दै बच्चालाई फर्मुला दुध खुवाएर आफ्नो प्राकृतिक दुध सुकाउन् लाग्छन शहरीया कतिपय महिलाहरु । जन्मने बित्तिकै निस्कने आमाको पहेँलो बाक्लो बिगौती दूध बच्चाको स्वास्थ्यका लागि अत्यन्तै उपयुक्त मानिन्छ । डाक्टरहरुको भनाइमा यो दूधमा रोगसँग लड्न सक्ने क्षमता भएकाले यसलाई बच्चाको लागि पहिलो खोप पनि भनिन्छ । तर यस्तो पहिलो खोप पाउने भाग्यमानी बच्चाको संख्या भने बढ्न सकेको छैन । सरकारी तथ्यांक हेर्ने हो भने बच्चालाई दूध खुवाउने आमाको संख्या पछिल्लो समय बढेर झण्डै ७० प्रतिशत पुगेको छ । यो अघिल्लो वर्षको भन्दा बढी हो ।
तर शुरुवाती ६ महिनासम्म शिशुलाई नियमित दूध खुवाउने महिलाको संख्या जम्मा ४५ प्रतिशत मात्रै छ । यसमा शहरी क्षेत्रको संख्या निकै कम छ । गाउँघरतिर बिगौती दूध खुवाउन हुँदैन भनेर नखुवाएपनि शिशुलाई स्तनपानको संस्कार छ । तर शहरी क्षेत्रमा शिक्षित र जानकार हुँदा हुँदै पनि बच्चालाई दूध नखुवाउने गरेको देखिन्छ ।
स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाका प्रमुख डाक्टर सेनेन्द्रराज उप्रेती बच्चाको लागि ६ महिना सम्म आमाको दुध बाहेक केही पनि खुवाउनु पर्दैन भन्दछन् ।
सरकारी तथ्यांकले जे देखाएपनि शहरी होस् या ग्रामिण क्षेत्रमा घरधन्दा र जागिरको क्रममा बच्चालाई दूध खुवाउन नपाउने बाध्यता छ । गाउँघरतिर हेर्ने हो भने भाग्यमानी आमाहरु तीन महिनासम्म सुत्केरी स्याहार पाउँछन् ।
तर धेरै यस्ता आमाहरु छन्, जसले सुत्केरी भएको १५ दिनपछि नै घरधन्दाको काम गर्नुपर्छ र बच्चालाई दूध चुसाउनु उनीहरुका लागि आराम गर्न पाउने मौका मात्रै हुन्छ । तर एकछिन मात्रै खाएको दूधले बच्चालाई पोषण पुग्दैन । यो बाध्यताले बच्चालाई ६ महिना पुग्ने बित्तिकै अरु ठोस कुरा खुवाउन शुरु गरिन्छ, जुन बच्चाका लागि पक्कै पनि राम्रो होइन । अर्कोतिर हेर्ने हो भने गाउँघरतिर आमालाई प्रशस्तै दूध आओस् भनेर ज्वानोको झोल लगायतका खानेकुरा खुवाउने चलन छ । सुत्केरी भईसकेपछि हुने शारीरिक परिवर्तन आमा बनेकाहरुका लागि निकै चिन्ताको विषय हने गरेको छ । तर नियमित स्तनपानले महिलाको सून्दरता घटाउनुको साटो बढाउने डा उप्रेती बताउछन् ।
सन् २०११ को तथ्यांक अनुसार दक्षिण एशियामा जन्मिने बित्तिकै एक घण्टाभित्र दूध खान पाउने शिशुको दर ३९ प्रतिशत छ । ६ महिनासम्म नियमीत दूध खान पाउनेको दर भने ४७ प्रतिशत रहेको छ । विश्वभर गएको वर्ष ३९ प्रतिशत बालबालिकाले मात्रै शुरुवाती ६ महिनासम्म लगातार आमाको दूध खान पाएका संयुक्त राष्ट्रसंघीय बालकोष, युनिसेफको तथ्यांक छ ।
नेपालमा स्तनपानका लागि अभियान चालिएको २१ वर्ष पुगेको छ तर अझै पनि स्तनपानमा सुधार आउन पूर्ण रुपमा सकेको देखिदैन । आज भोली बच्चालाई गाईको दुध खुवाएर पेट भराउने समस्या पनि छ । तर गाईको दुध बच्चाका लागि पचाउन नसक्ने र बढी प्रोटिनयुक्त हुने हुनाले पखाला जस्ता समस्या लाग्ने गरेको श्वास्थ्य विभागका महानिर्देशक डा. लक्कनलाल शाह बताउ‘छन् ।
विश्व स्वास्थ्य संगठनले स्तनपानको दर बढ्न नसक्नुको मुख्य कारण आमालाई प्रोत्साहन नमिल्नु भनेको छ । सुत्केरी बिदा, काममा फकिर्एका महिलालाई स्तनपानको समय र ठाउँको अभाव, आमाको दूधको विकल्पमा प्रयोग हुने पदार्थको बढ्दो बजारीकरण ठूला समस्या हुन् ।
नेपालमा अहिले रोगीहरुको संख्या बढ्दो छ , २ करोड ६४ लाख नागरिकका लागि वार्षिक १६ अर्बको औषधी खपत भईरहेको तथ्याङकले देखाएको छ । त्यसैले स्वस्थ्य जीवन, विकाससिल समाज र परिवर्तनको लागि पहिलो आधार भनेकै स्वस्थ्य शिसुहरु हुर्काउनु पनि हो । तपाई हामी सबै आफ्ना शिसुहरुलाई जन्मिएको एक घण्टा भित्रै र त्यस पछि पनि निरन्तर २ वर्ष सम्म स्तनपान गराउन र त्यस कार्यमा उत्प्रेरित गराउन लाग्ने हो कि ?

बिहि, चैत्र २६, २०७१ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य स्वास्थ्य समाचार

Like us On Facebook

Follow Us On Twitter