सहस्राव्दी विकासको प्रमुख चुनौती: भोकमारी


सन् २०१५ सम्ममा अति गरीबी र भोकको ५० प्रतिशत सम्म अन्त्य गर्ने राष्ट्रसंघले सन् २००० मा तय गरेको सहस्राव्दी विकासको प्रमुख लक्ष्य हो । ( Mellinium Development Goal 1M Eradicate extreme poverty and hunger ) गरीबी र आर्थिक असमानताको कारण उत्पन्न समस्या समाधानका लागि राष्ट्रसंघले लिएको उपरोक्त लक्ष्य असफल हुदै गएको देखिएको छ । सहस्राव्दी विकासको नाममा उसले लिएका प्रमुख उदेश्यहरु पुरा हुन निकै कठिन बन्दै गईरहेको स्वयं राष्ट्रसघीय महासचिव वान कि मुनले ३० औ विश्व खाद्य दिवसको अवसर पारेर अगष्ट २२ मा न्युयोर्कमा जारी गरेको एक सन्देशमा उल्लेख गरिएको छ । महासचिवको सो वक्तव्यमा गरीवी निर्मुल पार्ने प्रमूख लक्ष्यमा ५० प्रतिशत समेत काम नभएको उल्लेख गरिएको छ । यसले के देखाउछ भने सन् २०१५ सम्ममा विश्वमा भोकमारी उन्मुलन गरीसक्ने राष्ट्रसघद्धारा निर्धारित समयमा त पुरा हुदैन नै यदी विश्वको उत्पादन तथा वितरण प्रणालीमा व्यापक परिवर्तन नगर्ने हो भने अरु व्यापक अस्तव्यस्तता र चूनौतिहहरु देखिने संभावना छ । प्रस्तुत रिपोर्टमा गरीबी तथा भोकमारीको विश्वव्यापी समस्या र नेपालले सामना गरीरहेको गरीबीको चूनौतिको बारेमा विवरणहरु प्रस्तुत गरिएका छन् ।
भोकमारीको विश्वव्यापी चित्र
विश्व वैंकको सन् २००८ को विश्व विकास सुचकांक अनुसार विश्वको अहिलेको जनसंख्या अहिले ६ अर्ब ६९ करोड ७२ लाख ५४ हजार ४१ रहेको छ र यो संख्या २०११ मा ७ अर्ब पुग्ने र २०५० सम्ममा ९ अर्ब ४० करोड पुग्ने अनुमान गरिएको छ । विद्यमान जनसंख्या मध्य अहिले १ अर्बको हाराहारीमा मानिसहरु भोकमारीको समस्यामा रहेको संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सगठनको प्रतिवेदन २०१० ले देखाएको छ । पृथ्वीको कुल क्षेत्रफल ५१ लाख वर्गकिमी मध्ये ७० प्रतिशत भाग समुन्द्रले ओगटेको छ भने बाकी ३० प्रतिशत भाग मात्र जमीन छ, त्यसमा पनि कृषिका लागि कुल जमिनको ३७ प्रतिशत मात्र प्रयोग भईरहेको छ । यही खेती योग्य जमिनमा पनि बढ्दो शहरीकरण , जमिन माथिको अतिकेन्द्रीकृत व्यक्तिगत स्वामित्व र उत्पादीत अन्नको असन्तुलीत वितरणका कारण संसारमा भोकमरीमा कमी आउन सकेको छैन । त्यसमा पनि नेपाल जस्ता अल्प विकसित देशहरुमा भोकमारीको तथ्याङक डरलाग्दो छ । विश्वमा हाल प्रत्यक दिन २५ सय मानिसले भोकमारीका कारण ज्यान गुमाईरहेका छन् । मर्ने मानिसहरुलाई समय विभाजनका आधारमा छुट्याउदा प्रत्यक ४ सेकेण्डमा एक जना मानिसले भोकका कारण प्राण गुमाउ‘छ । राष्ट्रसंघीय खाद्य तथा कृषि सगठनले सन् २०१० मा सार्वजनिक गरेको तालिका अनुसार विश्वमा सबै भन्दा बढी भोका मानिसहरु एशिया तथा प्रशान्त क्षेत्रमा रहेका छन् । जहॉ गरीबहरुको सख्या ५७ करोड ८० लाख छ । तर विकसित राष्ट्रहरुमा भोका जनताको संख्या १ करोड ९० लाख मात्रै छ । १८ औ शताव्दी देखि धनी देशहरुको सूचीमा अहिले सम्म पनि परिवर्तन भएको छैन । पश्चिमा विकसित देशहरुले अपनाएको अति मुनाफाको आर्थिक पद्धति र तेस्रो विश्वमा बढी शोषण गरेर पश्चिमा धनी देशहरुले सम्पत्ति कमाएका छन् । एक तथ्याङक अनुसार पश्चिमा २० भन्दा बढी विकसित देशमा १ अर्ब मात्र जनसंख्या छन् । जसका कारण ती देशहरुलाई धनी मानिसहरुको क्लवको रुपमा हेरीन्छ ।
भोका जनताको क्षेत्रीय आधारमा संख्यात्मक विवरण
एशिया तथा प्रशान्त क्षेत्र ५७ करोड ८० लाख
अफ्रीकाको उप सहारा क्षेत्र २३ करोड ९० लाख
ल्याटीन अमेरीका र क्यारेवीयन क्षेत्र ५ करोड ३० लाख
उत्तर तथा पूर्वी अफ्रीका क्षेत्र ३ करोड ७० लाख
विकसित देशहरु १ करोड ९० लाख
( श्रोत: United Nations Food and Agricultural Organization report 2010 )
सन् २००९ मा सोही संस्थाको प्रतिवेदनमा एशिया तथा प्रशान्त क्षेत्रमा ६४ करोड २० लाख भोका रहेको तथ्य सार्वजनिक भएको थियो । तर १ वर्षमा झण्डै १३ करोड मानिसहरु भोकमरीबाट माथि उक्सेको देखिएको छ । यसरी हेर्दा एशियामा भोकमरी विरुद्धको अभियान केही सफल भएको देखिए पनि चुनौती मुक्त छैन । त्यस्तै उप–सहारा अफ्रीकी क्षेत्रमा ३ करोडले घटेको छ एक बर्षमा भने विकसित देशहरुमा ४० लाख भोकाहरुको संख्या बढेको छ । यसले हाल विकसित भएका भनिएका देशहरुमा चूनौती बढ्दै गएको संकेत गरेको छ ।
सन् १९९० यता भोकमरी अन्त्य गर्न एशियाली देशहरुमा निकै प्रगति भएपनि त्यो पर्याप्त भने भईसकेको छैन । हालै ईन्टरन्यान्सनल फुड पोलिसी एण्ड रिसर्च नामक क्यालिफोर्नीया विश्व विद्यालयको एक अन्तराष्ट्रिय अनुसन्धान केन्द्रले सार्वजनिक गरेको भोकमरीमा रहेका ८४ मुलुकको सूची अनुसार नेपाल भोकमारीग्रस्त देशको सूचीमा ५७ औ स्थानमा रहेको छ । भने चीन नवौ स्थानमा र भारत ६७ औ स्थानमा र पाकिस्तान ५२ औ स्थानमा रहेको छ । अन्तिम स्थानमा गणतन्त्र कंगो रहेको छ । परिसूचकमा बाल कुपोषण, बाल मृत्युदर र क्यालोरी नपुगेको जनसंख्याको अनुपातलाई मुख्य आधार मानिएको छ । दक्षिण एसियामा बङ्गलादेश, भारत , पाकिस्तान लगायत मुलुकमा भोकमरीको स्तर प्रतिव्यक्ति कुल गार्हस्थ राष्ट्रिय आम्दानीभन्दा उच्च रहेको सो इन्स्टिच्युटको प्रतिवेदनमा उल्लेख छ । चीन र भारतले तीव्र आर्थिक वृद्धि गरेपनि ती देशहरुमा भोकमरीको अझै ठूलो समस्या रहेको छ । भारतमा एक वर्षमा कम्तीमा ५ सय कृषकहरुले आत्महत्या गर्ने गरेको र चीनमा समेत तल्लो स्तरका कैयौ मजदुरहरुले आत्महत्या गर्ने गरेको रिपोर्टहरुले देखाएको छ । बाल मृत्युदर दक्षिण एशियामै भारतमा धेरै रहेको छ भने मलेरियाका कारण वर्षेनी भारतमा २ लाख मानिसको ज्यान जाने गरेको ‘द लेसैट’ नामक पत्रिकाले केही समय अघि मात्र प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालमा त अझ गरीबीका कारण खास गरी चाडपर्व एवं शैक्षिक कार्यका लागि खर्च जुटाउन नसक्दा कतिपय परिवारले हत्या एवं आत्महत्या गर्ने गरेका खवरहरु सार्वजनिक भईरहेका छन् । हाल विश्वमा खान नपाउने मानिसहरुको संख्या अमेरीका , क्यानडा र युरोपेली युनियनको कुल जनसंख्या भन्दा धेरै छ । विश्वको कुल भोकाहरु मध्य ९८ प्रतिशत विकाससील देशहरुमा रहेका छन् । यसैगरी एशिया तथा प्रशान्त क्षेत्रमा विश्वका भोका मानिसहरुको दुई तिहाई संख्या रहेको छ । त्यस्तै विश्वका कुल खान नपाउने मानिसहरुको ६५ प्रतिशत मानिस भारत ,चीन ,कंगो ,वगलादेश ,पाकिस्तान र ईन्डोनेशियामा मात्र रहेका छन् । अन्तराष्ट्रिय मुद्राकोषले हालै सार्वजनिक गरेको प्रतिवेदनमा चीन ,भारत र ईन्डोनेशिया एशियाको आर्थिक केन्द्रको रुपमा उदाएको भन्दै विश्व आर्थिक मन्दीबाट माथि आउन उनीहरुको भूमिका उल्लेख्य हुने जनाएको थियो । विश्व बैकको सन् २००९ को प्रतिवेदन अनुसार अहिले वैदेशिक सन्चतिमा अमेरीका पछि चीन दोस्रो र भारत चौथो स्थानमा रहेको छ । तापनि ती देशहरुमा भोकमारीमा पर्नेहरुको संख्या करौडौ छन् । सन् २००८ को अमेरीकी कृषि विभागको प्रतिवेदन अनुसार ४ करोड ९१ लाख अमेरीकी नागरिकहरु खाद्य असुरक्षाको मारमा छन् । यो संख्या सन् २००७ को तुलनामा ३६.२ प्रतिशतले वृद्धि भएको विभागको आकडा छ । विश्वमा विलासित्ताका जीवन शैली अपनाउने देशहरुमा अभाव शुरु हुदै गएको र श्रोत भएर पनि आर्थिक विकास हुन नसकेका देशरुमा केही प्रगति हुदै गरेको संकेतहरु देखिएका छन् ।
नेपालमा गरीबीको समस्या
अन्तराष्ट्रिय तथा राष्ट्रिय सर्वेक्षणहरुले नेपालमा गरीवीको अबस्थाको बारेमा भिन्दा भिन्दै प्रतिवेदनहरु सार्वजनिक भएपनि नेपालको गरीबी र भोकमरी अझै पनि एक प्रमुख चूनौतिको रुपमा रहेको छ । पछिल्ला दिनहरुमा खास गरी चाडपर्वमा खान नपाएको र शैक्षिक कृयाकलापका लागि खर्च जुटाउन नसकेका कारण झापा , स्याङजा लगायतका ठाउमा पारिवारीक हत्या र आत्महत्याका घटनाहरु सार्वजनिक भईसकेका छन् यद्यपि यसलाई सरकारले गरीवीका कारण मृत्यु भएको अर्थमा परिभाषित भने गरेको छैन । सहस्राव्दी विकास लक्ष्य सम्वन्धि नेपालको राष्ट्रिय योजना आयोगले सन् २०१० मा सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा नेपालमा गरीबीको सख्या कुल २५.४ प्रतिशतमा झरेको देखाईएको छ । ( हेर्नुस् सेप्टेम्बर ९ मा प्रकाशित Nepal Millinium Develoment progress Report 2010 part ) यद्यपि यो पनि घटेर हाल २० प्रतिशत भन्दा कम रहेको भन्ने सार्वजनिक हुन थालेको छ ।
सन् १९७७ मा राष्ट्रिय योजना आयोगले रोजगारी , आय विवरण र उपभोग प्रवृतिको आधारमा घरपरिवार सर्वेक्षण गरेको थियो । जसका आधारमा त्यतिखेर ४०.३ प्रतिशत मानिसहरु गरीबीको रेखामुनि रहेको विवरण प्रकासित गरिएको थियो । त्यस बखत प्रतिव्यक्ति प्रति महिना ६० रुपैया भन्दा कम आमदामी गर्नेलाई गरीवीको रेखामुनि राखिएको थियो । यस पद्धतिमा सुधार गर्दे सन् १९९५/९६ मा जीवनस्तर मापन अध्ययन पद्धतिमा आधारित पहिलो नेपाल जीवनस्तर सर्वेक्षण भयो । विश्व बैंकले सिफारिस गरेको आधारभुत आवश्यकताको लागत विधि (Cost of Basic Needs Approach) अनुशरण गरेर लिईएको सो सर्वेक्षणबाट नेपालमा ४२ प्रतिशत गरीबीको रेखामुनि रहेको देखिएको थियो । सोही आधारमा नेपालीहरू लाई जीवन निर्वाहको लागि सरदर २१२४ किलोक्यालोरी आवश्यकता हुने र सो क्यालोरी प्राप्ति र अरु गैरखाद्य आवश्यकता जस्तै आवास, लत्ताकपडा, स्वास्थ्य, शिक्षा तथा अन्य खर्च समेतलाई समायोजन गरी प्रतिव्यक्ति प्रतिवर्ष ५०८९ रुपैया भन्दा कम आयलाई ‘गरीबीको रेखा’ निर्धारण गरिएको थियो । नेपाल जीवनस्तर सर्वेक्षण, २००३/०४ पनि विश्व बैंकले सिफारीस गरेको सोही विधिबाट भएको थियो । जसले एक नागरिकलाई बाच्नको लागि लाग्ने न्युनतम खर्चको मुल्यमा परिवर्तन गरी ७ हजार ६ सय ९६ पुर्याएको थियो । यस अवधिको सर्वेक्षणमा गरीबीको रेखा ४२ बाट घटेर ३१ मा झरेको देखाईएको छ । त्यसै गरी २००८/९ को अनुमानित सर्वेक्षणका आधारमा गरीवीको सख्या घटेर २५.४ प्रतिशतमा झरेको देखाएको छ । तर सरकारी सवै जसो प्रतिवेदनहरु पूर्ण रुपले विश्वसनीय नहुने गरेको विरासतलाई हेर्दा भने नेपालमा गरीवीको संख्या राष्ट्रिय योजना आयोगको अनुमान भन्दा बढी रहेको विज्ञहरु बताउछ‘न् । हालै यूएनडिपीका लागि अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापकहरूले गरेको एउटा भिन्न मापदण्डको भिन्न सर्वेक्षण अनुसार नेपालमा गरीवीको संख्या ६५ प्रतिशत रहेको देखाएको छ । उनीहरुले तयार गरेका बहु–आयामिक गरीबीको सूचक ( Multidimensional Poverty Index, MPI ) मा शिक्षा, स्वास्थ्य र जीवन स्तर सूचकहरुको रुपमा तीन समूहमा विभाजित गरिएका छन् । यी सूचकहरु हुन् – ५ वर्ष स्कूलमा अध्ययन गरेको , १ देखि ८ कक्षासम्म अध्ययनरत रहेको, बाल मृत्यु भएको, पोषण नपुगेको तथा बिजुली नभएको, खानेपानी सुविधा ३० मिनेट भन्दा बढी हिंडेर काम प्राप्त गर्ने, शौचालय नभएको कच्ची भुई भएकोस दाउरा, गोल, गुईंठाबाट खाना पकाउने र रेडियो, टि.भी., साइकल, मोटर साइकल, कार, ट्रयाक्टर कुनै मध्ये एक मात्र अथवा त्यो भन्दा कम भएको अबस्थाको आधारमा यो सर्वेक्षण भएको छ । जसलाई राष्ट्रिय योजना आयोगले विरोध त गरेको छैन तर आधिकारीक प्रयोगमा ल्याउने प्रयास पनि गरेको छैन ।

धनी र गरीबका बीचमा बढ्दो खाडल
आजको विश्वले सामना गरीरहेको प्रमुख चुनौतीमध्य सम्पत्तिको स्वामित्वका कारण उत्पन्न भएको समस्या पनि हो । युनिसेफले जनाए अनुसार हाल विश्वको कुल बार्षिक आमदानीको ४५ प्रतिशत हिस्सा ३ सय ५८ जना अर्बपतिहरुको हातमा छ । विश्वका १० जना धनाढ्य मानिसहरुको हातमा कैयो देशहरुको राष्ट्रिय वजेट भन्दा धेरै सम्पत्ति छ । अहिलेको विश्वका सबै भन्दा धनी मेक्सीकोका कार्लोस स्लीम हेलु हुन् । टेलिकमका मालिक रहेका उनको सम्पत्ति ५३ अर्ब ५ करोड छ । आईएमएफले उनको सम्पत्तिलाई सुडानको बार्षिक बजेटसग‘ तुलना गरेको छ , ५४ अर्ब ६ करोड कुल ग्राहस्थ उत्पादन रहेको सुडान सम्पत्तिको आधारमा विश्व्को ६६ औ स्थानमा छ । यो बजेट हेलुको सम्पत्ति भन्दा ११ करोड मात्र बढी हुन आउछ । त्यस्तै अमेरीकाका माईक्रो सफ्ट कम्पनीका मालिक बिलगेट्सको ५३ अर्ब अमेरीकी डलर रहेको छ उनको सम्पत्ति सिरियाको राष्ट्रिय बजेट भन्दा धेरै छ । यसै गरी भारतका मुकेश अम्वामी र लक्ष्मी मित्तलको क्रमश: २९ अर्ब र २८ अर्ब २७ करोड सम्पत्ति रहेको छ । नेपाल आईएमएफले गरेको सुचीकरणमा १ सय ६ नम्वरमा छ नेपालको राष्ट्रिय आमदानीको २ गुणा भन्दा बढी सम्पत्ति भारतका मित्तलसग‘ मात्र छ । यस्तै नेपालका पनि कैयौ अर्बपतिहरुको हातमा देशको आधा जसो आमदामीको हिस्सा रहेको अनुमान गरिएको छ । यो सम्पत्तिको असमानुपातिक केन्द्रीकरण र वितरणको बिबरणले पनि विश्वमा धनी र गरीवको बीचमा खाडल बढ्दो छ । नेपालको सन्दर्भमा हेर्दा पनि जति गरीबी घटेको देखाईएको छ , त्यसमा क्षेत्रीय आधारमा असन्तुलन मात्र छैन कि धनी र गरीबको खाडल व्यापक मात्रामा बढाएको छ ।
सन् १९९५/९६ देखि २००३/०४ को आठ वर्षमा गरीबीको दर घटेको देखाईएको छ तर अर्कोतिर गरीब र धनीको अन्तर रेखा बढेको छ । तथ्याङक अनुसार उपभोग खर्चको असमानता जनाउने सूचक ०.३४ बाट बढेर अहिले ०.४६ मा पुगेको छ । यस्तै अर्को अन्तरविरोध शहर र गाउको वीचमा पनि रहेको छ । हाल राजधानी काठमाण्डौंमा भन्दा अन्य क्षेत्रहरुको विकास स्तर कमी छ , भने गरीबी बढी छ । अहिले ग्रामिण क्षेत्रमा २२ प्रतिशत गरीबी रहेको छ भने शहरमा ८ प्रतिशत मात्र गरीबी छ । यसरी बढ्दो तापमान बृद्धि , असन्तुलन र असमानुपातिक वितरणका कारण हट्न नसकेको गरीबी र भोकमारीमा यी चुनौतिहरु समाधान नगर्दा अझ समस्या बढ्न सक्छ ।
कस्तालाई गरीब भन्ने ?
गरीबीका बारेमा हरेक देशले आ–आफ्नो मापदण्ड बनाएका छन् । यद्यपि यसको साझा परिभाषामा कुनै पनि नागरिकलाई आवस्यक पर्ने खाद्यन्न , आवास , सुरक्षा जस्ता कुराहरु नहुने मानिसलाई गरीब भन्ने गरेको देखिएको छ । यसका लागि अहिलेको अहिले तुलना गरिएको मुद्रामा छ ,जुुन मापदण्ड अनुसार दिनमा १ अमेरीकी डलर भन्दा कम आय भएका मानिस गरीब हुन् भने २ डलर आय भएका मानिस कम गरीब हुन् । विश्व वैकले गरीबीलाई भोकमरी ,बासस्थानको अभाव , विरामी हुदा उपचार गर्न नसक्नु ,स्कुलमा गएर पढ्न नपाउनु , रोजगारी नहुनु ,भविष्य अनिश्चित हुनु , आदि अबस्था हो भनी परिभाषित गरेको छ । मानिसलाई आधारभूत रुपले आवस्यक रहेको दाना ,नाना र छानाको अभाव अति गरीबी हो भन्नेमा सबै जसो सामाजिक कार्यमा लागेका निकाय तथा विज्ञहरु सहमत छन् । ती आवस्यकता पुरा गर्न नसक्ने मानिसहरु भनेका १ अमेरीकी डलर भन्दा कम आय भएका मानिसलाई ठानिएको छ । यस्ता मानिसहरुको सख्या हाल विश्वमा १ अर्ब ३७ करोड २० लाख छ । त्यस मध्य झण्डै ९५ प्रतिशत विकाससील देशरुमा मात्र रहेको छ । दक्षिण एशियामा मात्र ५ करोड ९६ लाख मानिस प्रति दिन १ डलर भएका मानिस छन् जवकि सिगो यूरोपभरी यो सख्या १ करोड ७० लाख मात्र रहेको छ ।

– प्रत्यक वर्ष एक करोड ५० लाख बच्चाहरु खान नपाएर मर्दछन् ।
– प्रत्यक दिन २५ सय मानिस भोकका कारण मरिरहेका छन्
– प्रत्यक ४ सेकेण्डमा एक मानिस भोकका कारण मर्दछ ।
– विश्वको वार्षिक आमदानीको ४५ प्रतिशत हिस्सा ३ सय ५८ जना अर्बपतिहरुको हातमा छ ।
– विश्वका विकसित देशका २० प्रतिशत मानिसले विश्वको ८६ प्रतिशत बस्तुको उपभोग गर्छ ।

गरीबीको अन्त्य होला ?
सन् २००० मा राष्ट्रसघले २१ औ शताव्दीका लागि १५ वर्षमा गर्ने कार्य भनेर ल्याएको ८ सहस्राव्दी विकास लक्ष्यको प्रमुख गोल नै थियो अति गरीबीको अन्त्य गर्ने सन् २०१५ सम्ममा तर यो अभियान शुरु भएपछि भएको प्रगतिको विवरण हेर्दा १० विद्यमान गरीबीमा १० प्रतिशतले पनि कमी आएको देखिएको छैन जबकी लक्ष्य कार्यन्वयन गर्न आव्हान् गरिएको १० वर्ष वित्यो र अब ४ प्रतिशत मात्र छ यसको कार्यन्वयनको अबधि । हालै राष्ट्रसंघीय महासचिवको भोकमरी अन्त्य गर्ने दिशामा प्रगति हुन नसकेको भनी चिन्ता आउनुलाई पनि सम्बद्ध पक्षले गंभीर रुपमा लिएको छ । अहिले विश्वमा उत्पादन भईरहेको अन्नपात ,फलफुलले मानिसलाई चाहिने २७ सय २० क्यालोरी ले विश्वको जनसंख्यालाई पुग्ने एफएओले जनाएको छ । तर विश्वको प्रणाली र सिदान्तको समस्याले गर्दा त्यो हुन नसकेको उसको ठहर छ । धेरै जसो अन्तराष्ट्रिय विज्ञहरुले पनि यस मामिलामा आर्थिक तथा राजनीतिक प्रणालीको समस्याका कारण गरीबी र भोकमरी समस्या आएको वताईसकेका छन् । अहिले हतियार तथा सैनिकका लागि भएको खर्चमात्रै कटाउदा पनि विश्व भोकमारी मुक्त हुने वताईन्छ । अहिलेको मुल्यमा एउटा क्षेप्यास्त्र किन्न खर्च गरीने पैसाले एउटा स्कुलमा सबै भोका बच्चाहरुलाई ५ वर्ष सम्म प्रत्यक दिन खाना खुवाउन पुग्छ । अहिले विश्वका विकसित देशका २० प्रतिशत मानिसले विश्वको ८६ प्रतिशत बस्तुको उपभोग गर्छ । विश्वमा हतियारका लागि हुने खर्चको एक प्रतिशत मात्र खर्च कटौती गर्ने हो भने विश्वका सबै वालवालीकालाई स्कुल पुर्याउन सकिने बताईएको छ । विश्वमा गरीबी अन्त्यका लागि अहिलेको आर्थिक तथा विरण प्रणालिमा परिवर्तन ल्याउने ,हतियारका लागि भईरहेका खर्चहरुको कटौती गर्ने मात्र हो भने पनि विश्व भोक मुक्त हुने थियो कि ? यदी भोकमरी अन्त्य भएन भने यसले निम्त्याउने द्धन्द र सघर्षले ससारलाई कसरी प्रभावित पार्ला कल्पना मात्र गर्न सकिन्छ ।

बुध, चैत्र २५, २०७१ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया